धुमधामले मनाए थारु समुदायले अटवारी पर्व

धुमधामले मनाए थारु समुदायले अटवारी पर्व

तुलसीपुर : तीज पछिको पहिलो आइतबार थारु समुदायले मनाउने एउटा महत्वपूर्ण सांस्कृतिक पर्व अट्वारी आइतबार पश्चिम नेपालका थारुहरुले धुमधामका साथ मनाएका छन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारु समुदायले आइतबार धुमधामले अट्वारी पर्व मनाएका हुन् । अट्वारी पर्व मनाउने सवालमा थारु समुदायकै बीचमा फरक - फरक मिति र समय हुन थालेपछि यसमा एकरुपता ल्याउन पछिल्लो समय थारु बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका मटहवा, भलमन्सा र बढघरहरुले संयुक्त रुपमा क्यालेन्डर समेत सार्वजनिक गरेर एकै दिन मनाउन थालेका हुन् ।

थारु समुदायका पु्रुषले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । पानी समेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिन पछि आउने आइतबारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए ।

किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीचको युद्धका नायक भीमसंग समेत जोडेर मनाउने गरिएको उनले बताए । थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको मन्त्री चौधरीले बताए । धर्म सस्कृति र परम्पराले विविधतालाई एकतामा जोडेको भन्दै यसको संरक्षण र विकास हुन जरुरी रहेको उनले बताए । संस्कृितको संरक्षणकै लागि आफु दाङमा रहेको पुर्खौली घरमा आएर यस वर्षको अट्वारी पर्व मनाउन लागेको उनले बताए । आफनो संस्कति र परम्पराको जगेर्ना गर्दै अरुको संस्कृतिको सम्मान गर्नु पर्ने उनको भनाई थियो ।

थारु संस्कृतिविद अशोक थारुले अट्वारी पर्वलाई शक्ति र प्रकृतिको पूजाको रुपमा लिनुपर्ने बताए । सम्पूर्ण व्रह्माण्डको मुल स्रोत भनेको सौर्य उर्जा भएकोले त्यही शक्तिको उपासना नै अट्वारीको रुप भएको उनको भनाई छ । उनले अट्वारी पर्वलाई अलौकिक मिथकसंग जोड्नुभन्दा विश्व व्रह्माण्डिय विज्ञानलाई जोड्नु बढी बैज्ञानिक र दिगो हुने धारणा व्यक्त गरे ।

 

थारु संस्कृतिविद थारुले थपे,‘अट्वारीको बारेमा अब द्धापर युग, भीम र दंगीशरण राजाभन्दा अगाडि गएर सूर्यको उत्पत्तिको युगसँग सोच्न सक्नुपर्छ ।' थारु समुदायमा अट्वारीका अवसरमा स्थानीय स्तरमा उत्पादित बस्तुहरु काँक्रा, अम्वा, केरा र चामलको पिठोको रोटी पकाएर खाने चलन छ । तर, चामलको पिठोको उक्त रोटी भने एकसरो पकाइएको हुन्छ । यस्मा पनि रोचक किम्वदन्ती छ । द्धापर युगमा धर्म युद्ध हुने गर्दथ्यो । त्यतिबेला सूर्य अस्ताएपछि युद्ध हुँदैन थियो । भोकले व्याकुल ‘भिम' रोटी पकाउँदै गर्दा युद्धको ‘डंका' युद्धको विगुल बजेपछि उनी पकाउँदै गरेको रोटी छोडेर कौरवसँग भिड्न गएको हुँदा उनको बहादुरीको प्रशंसाको लागि एकतर्फ मात्रै पकाएको रोटी खाने प्रचलन रहेको मन्त्री चौधरीले बताए ।

अट्वारी पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको डुना टपरीमा परिकार खाने प्रचलन छ । तर पछिल्लो समय काँक्रा, अम्वा, केराका साथसाथै बजारवाट स्याउ समेत किनेर लग्ने प्रचलन बढ्नु संस्कृतिको रुपान्तरण मान्नुपर्ने थारु संस्कृतिविद् अशोक बताउँछन् । अट्वारीमा माछा मासु खाइदैन ।

अट्वारी पर्व र यसको महत्व

थारु समुदायहरुको विभिन्न चाडपर्वहरु मध्येको एक महान् पर्व हो, अटवारी पर्व । प्रत्येक वर्ष भदौ महिनाको श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो पर्वको रुपमा लिइन्छ यो अत्वारी पर्वलाई । विशेषगरी थारु जातिको बाहुल्यता रहेको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायतका जिल्लाहरुमा धुमधामका साथ मनाउने गरिन्छ । खासगरी यो अट्वारी पर्व पुरुषले मनाउने गर्दछन् ।

ऋषीपञ्चमी पछिको आइतबारको दिन मनाउने यो अट्वारी पर्व आइतबारको अघिल्लो रात अर्थात् शनिवारको मध्यरातमा भाले नबास्दै माछा, मासुजस्ता मीठा-मीठा परिकार बनाई दर खाने चलन रहेको छ । जसलाई थारु शब्दमा ‘भिन्सरिया खइना' भनिन्छ । आइतबारको दिन व्रत बसेका ब्रतालुहरुले नुहाइधुवाई गरी दिनभरी विभिन्न प्रकारका रोटीहरु पकाउने गर्दछन् । यसरी सुरुमा पकाएको रोटीलाई एकपट्टी मात्रै नपल्टाएर पकाउने चलन छ । जसलाई भेवाको रोटी अर्थात् ‘रोट' भन्ने गरिन्छ ।

अट्वारीको रोटी पकाउँदा नयाँ चुलो बनाएर छुट्टै कोठामा गाईको गोबरले लिपपोत गरी पकाएको रोटी पूजा नगर्दासम्म खान बन्दैन भन्ने मान्यता छ भने सुरुमा आगो बाल्ने बेला गन्यारी नामक काठबाट रगडेर आगो निकालिन्छ । यसरी निकालिएको आगोलाई मुखले फुक्नु हुँदैन मुखले फुक्दा जुठो हुन्छ । यसले गर्दा देवता रिसाउने भएकाले चोखो पार्नुपर्ने मान्यता रहेको छ । यसरी गन्यारीबाट निकालिएको आगोलाई ‘अग्यारी' भनिन्छ ।

दिनभरी विभिन्न प्रकारका रोटी पकाइ बेलुकी पख नजिकैको जलाशयमा गई नुहाइधुवाइ गरी सुरुमा पकाएको रोटी, दही, केरा, काक्राजस्ता फलफूलहरु भेवालाई चढाई भेवाको पूजा गर्ने प्रचलन छ । यसरी भेवा (पाँच पाण्डवमध्येका माहिला भीमसेन) पूजा गर्दा घरमा नयाँ अन्नबाली भित्रियोस्, वर्ष दिनसम्म खान र लाउन पुगोस् भन्ने कामना गरिन्छ । यसो गर्दा आफ्नो घर, टोल र समुदायको सुरक्षाको तथा चेलीबेटीसँगको नाता, बन्धन सुमधुर र प्रगाढ हुने मान्यताले पनि यो अट्वारी पर्व मनाउने गरिन्छ ।

अट्वारीको (आइतवार) अर्को दिन अर्थात् फरार (सोमवार) को दिन बिहानै नुहाइधुवाइ गरी पूजापाठ गरेर छुट्याएर राखेको भाग आफ्ना पराइ घर लागेको चेलीबेटीहरुलाई दिन जोन गरिन्छ । जसलाई ‘अग्रासन' दिने भनिन्छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.