डोक्लाम विवाद अन्त गर्न भारत र चीनबीच सहमति
लामो समय देखि जारी डोक्लाम विवाद अन्त गर्न भारत र चीन सहमत भएका छन्। चीन, भारत र भुटानको त्रीदेशीय सिमानामा पर्ने डोक्लाम क्षेत्रलाई लिएर दुई देशबीच पछिल्लो दुई महिना देखि बिवाद हुँदै आएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार दुई देशबीच डोक्लाम क्षेत्रमा तैनाथ गरिएका दुबै देशका सेना फिर्ता लिने सहमति भएको छ।
भारतीय विदेश मन्त्रालयले डोक्लाम क्षेत्रमा तैनाथ गरिएका सेना फिर्ता बोलाउने प्रक्रिया समेत सुरु भइसकेको जनाएको छ। यस्तै चिनियाँ सञ्चारमाध्यमले पनि दुई देशबीचको विवाद अन्त गर्ने सहमति भएको जनाएका छन्। दुबै देशले शान्तिपूर्ण रुपमा संवादबाट समस्याको समाधान गर्ने जनाएका छन्।
डोक्लाम क्षेत्रमा चीनले सडक निर्माणका साथै भौतिक संरचना निर्माणलाई तीब्रता दिएपछि भारतले हस्तक्षेप गर्दै सेना परिचालन गरेको थियो। दुई देशबीच तनाव बढ्दै जाँदा युद्ध हुनेसम्मका खवर सार्वजनिक भएका थिए।
केही साता अघि दुई देशका सेनाबीच ढुंगा हानाहान समेत भएको थियो। भारत र चीनले डोक्लम विवादलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै एकले अर्काे देशलाई चेतावनीपूर्ण बक्तव्यबाजी समेत गर्दै आएका थिए।
दुई देश बढ्दो तनावले विश्वकै ध्यान डोक्लमतर्फ केन्द्रित भएको थियो। अमेरीका लगायतका पश्चिमा देशहरुले निरन्तर रुपमा संवादमार्फत समस्या समाधान गर्न दुबै देशलाई सुझाव दिदै आएका थिए।