कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण समाधान खोज्नेछौँ: अमेरिकी विदेशमन्त्री
वासिङ्टन: अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राखेका छन्।
उनले पछिल्ला समयमा उत्तर कोरियाले उक्त क्षेत्रमा गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक व्यवहार देखाइरहेको बताउँदै तर पनि अमेरिकाले भने त्यसको समाधान शान्तिपूर्ण रुपमा नै के कसरी गर्न सकिन्छ भनेर हेरिरहेको धारणा राखे।
अमेरिकी फक्स टेलिभिजनलाई आइतबार दिनुभएको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन्। उनले उक्त क्षेत्रमा शान्तिपूर्ण बाहेकको अर्को विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताए।
उक्त अन्तरवार्तामा उनले भने, 'उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा जारी राखेको क्रियाकलाप उत्तेजकबाहेक अरु केही होइन, यसले खासगरी अमेरिकालाई नै बढी तारो बनाएको देखिन्छ।'
'तर उसले अमेरिकालाई तारो बनाएको भए पनि हामीले भने यसको समाधानको विकल्प शान्ति प्रक्रिया नै देखेका छौँ', उनले भने। उत्तर कोरियाले पछिल्लो समयमा गरेको एक क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ।
अमेरिकाको पछिल्लो प्रतिक्रियाअनुसार यो पछिल्लो क्षेप्यास्त्र परीक्षणले कुनै खतरा भने दिन सक्दैन । अमेरिकाले गरेको अध्ययनअनुसार सो क्षेप्यास्त्र गत शनिबार बिहान गरिएको थियो । रासस/सिन्ह्वा