विराटनगरका बाढी पीडित बालबालिकालाई जापानबाट सहयोग
विराटनगर: जापानमा बस्ने नेपालीको समूहले विराटनगरका बाढी प्रभावित बालबालिकालाई सहयोग गरेका छन। विराटनगर-१९ खापटोलका दलित समुदायका बालबालिकालाई पूर्वी नेपाल विकास सहकार्य जापानले लत्ताकपडा तथा सरसफाई सामग्री सहयोग गरेको हो।
केन्द्रले पूर्वी नेपालमा शिक्षा तथा विकाससँग सम्बन्धित कार्यक्रममा विविध सहयोग गर्दै आएको छ।एक औपचारिक कार्यक्रमबीच सोमबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बालबालिकालाई राहत स्वरुप एकजोर कपडा, न्यानो ब्लाङ्केट र सरसफाई सामग्री अन्तर्गत साबुन, दन्त मञ्जन, ब्रसलगायत सामग्री हस्तान्तरण गरे।
मेयर पराजुलीले जापानमा बस्दै आएका विराटनगर तथा पूर्वी क्षेत्रका नेपालीले बाढी प्रभावित बालबालिकालाई गरेको सहयोग सह्रानीय भएको बताए। राहत वितरणमा एक्सन एड, नारी विकास र पौरखी मिडियाले पनि सहयोग गरेका थिए।
बालबालिकाको राहतका लागि पूर्वी नेपालले ६० हजार र एक्सन एडले नगद ३० हजार रुपैयाँ सहयोग गरेको नारी विकास संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले बताए।
कार्यक्रममा विराटनगर-१९ वडाअध्यक्ष वद्रीनारायण सरदारले विपन्न र दलित समुदायका बालबालिकालाई लक्षित गरेर गरिएको सहयोग निकै फलदायी भएको बताए। नारी विकास संघकी अध्यक्ष सीता शर्माले राहत तथा सहयोग बालबालिकामा केन्द्रीत गर्दा उनीहरुलाई निकै सहज भएको बताए।
गत साउन २८ गते सिंघीया खोलामा आएको बाढीले खापटोलमा निकै ठूलो क्षति गरेको थियो। बाढीले धेरै दलित समुदायको घर भत्काएको र बालबच्चाको समेत बिल्लीवाठ भएको स्थानीय झर्की ऋषिदेवले बताए।
पूर्वी नेपाल विकास केन्द्र जापानले बाढीबाट क्षति पुगेको विराटनगर-२ को ओशो ध्यान आश्रमलाई राहतस्वरुप नगद दश हजार रुपैयाँ सहयोग गरेको छ। केन्द्रका अध्यक्ष सुवास लोहनीले बाढीबाट प्रभावित पूर्वको विराटनगरसहित अन्य क्षेत्रलाई पनि सहयोग गरिएको जानकारी दिए।