सिंहदरबारसँग अधिकार माग्दै सय दिन बिते: नगरप्रमुख
भक्तपुर: तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन हुँदै गर्दा अब गाउँगाउँमै सिंहदरबार पुग्ने बताए। संविधानले पनि स्थानीय तहलाई धेरै अधिकारको अख्तियारी दिएको छ। तर कुरा बुझ्दै आउँदा जनप्रतिनिधिहरुले आफूहरु झुक्किएको र जनताले आफूहरु ठगिएको महसुस गर्न थालेका छन्। त्यसमाथि केही जनप्रतिनिधिहरुले जनताका कामभन्दा आफ्ना सेवासुविधा उपभोगमा तल्लीन हुन थालेपछि बरु हिजोको कर्मचारीनतन्त्र नै 'ठीक' भन्ने तहसम्म पुग्न थालेका छन्।
चुनाव अघिसम्म आफूलाई शीर झुकाएर नमस्कार गर्ने जनप्रतिनिधिहरु अहिले निर्वाचित भएपछि आफ्नो नमस्कारसमेत नफर्काउने हुँदा धेरै जनता पाँच वर्ष कहिले सिद्धिएला भन्दै दिन गन्न थालेका छन्।
तर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिंहदरबारसँग अधिकार माग्दामाग्दै आफूहरुको सय दिन बितेको बताएका छन्। भक्तपुर नपामा आफूहरु प्रवेश गरेको सय दिन पूरा भएको अवसर पारेर सोमबार जनप्रतिनिधिहरुले एक कार्यक्रमसमेत गरेका छन्।
‘स्थानीय तह सञ्चालनसम्बन्धी ऐनकानुनहरु नबन्दा नगरपालिकामा काम गर्नै समस्या भइरहेको छ', प्रमुख प्रजापतिले अन्नपूर्णसँग भने, ‘ऐनकानुन र अधिकार माग्दामाग्दै हामी नै थाक्ने अवस्था आइसक्यो।'
भक्तपुर नगरपालिकालाई देशभरकै नमुना नगरपालिका मानिन्छ। गएको वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा भक्तपुर नपामा नेपाल मजदुर किसान पार्टीले सम्पूर्ण सीट जितेर 'क्लिन स्वीप' गरेको थियो। जसले गर्दा भक्तपुर नगर कार्यपालिकामा समेत नेमकिपाको एकछत्र रहन पुगेको थियो।
यतिमात्रै होइन देशभरमा उच्च मावि तथा कलेज चलाउने भक्तपुर नगरपालिका एकमात्रै हो । यसकै आधारमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियामा नपा अघि बढिरहेको छ। ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक संसदमा विचाराधीन अवस्थामा छ।
उनका अनुसार स्थानीय तहलाई अधिकारसम्पन्न भएको बताए पनि केन्द्र सरकारको हस्तक्षेप रोकिएको छैन झन् बढेको छ। कर्मचारी समायोजनको नाउँमा स्थानीय तहमा थप कर्मचारी पठाउनु स्थानीय तहको यत्ततामाथिको हस्तक्षेप भएको उनको भनाइ थियो।
‘स्थानीय तह आफै सिंहदरबार भयो भन्ने अनि माथिल्लो सिंहदरबारले समायोजनको नाउँमा कर्मचारीहरु पठाउनु हाम्रो स्वायत्ततामाथिको हस्तक्षेप हो', प्रमुख प्रजापतिले भने, 'स्थानीय तह नै सबै भन्ने तर सडक, खानेपानी, ढल, स्वास्थ्य, शिक्षालगायत हाम्रो हातमा आएको छैन। हामीलाई जानकारी नदिइकन स्थानीय तहभित्र केन्द्रबाटै योजना पारिदिने प्रवृत्ति रोकिएको छैन। त्यसैले गएको सय दिन त सिंहदरबारसँग अधिकार माग्दै बिते।'
उनले स्मार्ट सिटीको नाउँमा नगरपालिकाभित्रका जग्गाको कित्ता काट, अंशबन्डा रोक्नु स्थानीय तहको अधिकार खोसिनु भएको प्रतिक्रिया दिए। स्थानीय विकास मन्त्रालय एवं सरकारले आदेशको भरमा स्थानीय तह चलाउन खोजेको भन्दै प्रमुख प्रजापतिले आपत्तिसमेत जनाए।
जनताका काम पनि भए
सिंहदरबारसँग लड्दालड्दै जनताका काम पनि गर्न भ्याएको उनी बताउँछन्। उनका अनुसार सरसफाइ र सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नपाले गएको सय दिनभित्र उल्लेखनीय काम गरेको छ।
उनका अनुसार नगरभित्रका विद्यालयहरुले आफू वरपर रहेका मठमन्दिर, ढुंगेधारा तथा पाटीपौवाको नियमित सरसफाइ गर्ने प्रतिबद्धता जनाएका छन्।
भूकम्पमा भत्किएका दर्जनभन्दा बढी मठमन्दिरको पुनर्निर्माण सकिएको र आधा दर्जन सम्पदाको पुनर्निर्माण भइरहेको उनी बताउँछन्। त्यस्तै जनताका विकास निर्माणको माग पूरा गर्न प्रत्येक वडालाई पचासपचास लाख रुपैयाँ बजेट उपलब्ध गराउनु आफूहरुको सयदिनभित्रको आफूहरुको ठूला उपलब्धि भएको उनी दावी गर्छ।
‘यसबाट ससाना विकास निर्माणको काम वडाबाटै भए', प्रमुख प्रजापतिले भने, ‘नगरवासीका तत्कालका माग पनि पूरा गर्न सहज भयो।'
उनले भक्तपुर नगरको मुख्य समस्या खानेपानी र ढल व्यवस्थापन तथा हनुमन्ते खोलाको सफाइ सम्बन्धमा सरोकारवाला निकायसँग धेरैपटक छलफल भएर समाधानको उपाय पहिचान भएको बताए। सय दिनभित्रै भएको नगरको पहिलो सभाले एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँको बजेट पारित गरेको थियो।