निर्वाचनमा बालबालिका प्रयोग रोक्न हस्ताक्षर
काठमाडौं (अन्नपूर्ण): निजी विद्यालयको छाता संगठनका प्रतिनिधि तथा शिक्षा मन्त्रालयका प्रतिनिधिले अगामी निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नदिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।
असोज २ मा हुने प्रदेश २ को स्थानीय निर्वाचन र मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरूले बालबालिका प्रयोग रोक्न प्रतिबद्धता जनाएका हुन्।
शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, अभिभावक संघ नेपालका केशव पुरी, एनप्याब्सनका कर्णबहादुर शाही र संगीता सिलवाल, हिसान नेपालका नवराज पाण्डे, केन्द्रीय बालकल्याण समितिका तारक धिताल, राष्ट्रिय मानवअधिकार आयोगका यज्ञप्रसाद अधिकारी र प्याब्सनका दीपिका रिमाल थापाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।