बारामा तीन हजार सुरक्षाकर्मी थपिने
कलैया: असोज २ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बारामा झण्डै तीन हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी थपिने भएका छन्। निर्वाचनको मिति नजिकिदै गएपछि सफल रुपमा चुनाव सम्पन्न गर्ने रणनितिमा जुटेको दुबै सुरक्षा निकायले बाहिरबाट थप सुरक्षाकर्मी ल्याउने योजना बनाएको हो।
तीन सय चार मतदान स्थल रहेको बारामा तीन हजारको संख्यामा नेपाल प्रहरी र करिब दुई हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने भएका छन् । बारामा नेपाल प्रहरीको अहिलेको संख्या आठ सय रहेको छ । निर्वाचनका लागि दुई हजार तीन सयको संख्यामा थप प्रहरी ल्याईने जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए।
‘अहिले हामी आठ सयको हाराहारीमा छौ, यति संख्याले निर्वाचनका लागि पुग्दैन्' बैदवारले भने ‘मद्यतका लागि प्रहरी बाहिरबाट ल्याईनेछ। सुरक्षा सफल बनाउने रणनितिमा हामी जुटिसकेका छौ ।' थप बल केही निर्वाचन भन्दा केही दिन अगाडी ल्याईने उनको भनाई छ।
सशस्त्र प्रहरीले भने ६ सय ७७ सुरक्षाकर्मी बाहिरबाट ल्याउने भएको छ । निर्वाचनका लागि बारामा एक हजार आठ सय ८७ सशस्त्र प्रहरी खटिनेछन् । सर्वसाधारणले ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण गर्नका लागि थप बल ल्याएर सुरक्षाको बन्दोवस्त मिलाउन लागेको सशस्त्र प्रहरीले जनाएको छ।
निर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले राजमार्ग र सिमा क्षेत्रमा चेकजाच कडा पार्न थालेको प्रहरी उपरिक्षक बैदवारले जानकारी दिए। निर्वाचनको वातावरण बिग्रन नदिन प्रहरी सचेत भएर लागेको भन्दै बैदवारले रात्री गस्ती र चेकजाचलाई अहिले तिब्रता दिएको बताए।
'सामान्य घटनाले पनि निर्वाचनको वातावरणमा खलल पुर्याउन सक्ने भएकाले हामी सचेत छौ' बैदवारले भने ‘कहि कतै घटना हुन नदिन त्यसै अनुसार रणनिति बनाईरहेका छौ । सर्वसाधारण ढुक्क भएर मतदान गर्न पाउनेछन्।'
बिस दिनपछि हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यलयले बाराको १६ स्थानिय तहमा स्थापना गरेको निर्वाचन कार्यलयमा पाच जनाको संख्यामा नेपाल प्रहरी खटिएका छन्।
दुई उपमहानगर, पाच नगर र नौ गाउपालिका रहेको बाराको सबै तहमा सोमबार निर्वाचन कार्यलय स्थापना गरिएको छ। निर्वाचन कार्यलय स्थापना भएलगत्तै प्रहरी सहायक निरिक्षकको नेतृत्वमा पाच जना प्रहरी खटाइएको प्रहरी उपरिक्षक बैदवारले जानकारी दिए।
सशस्त्र प्रहरीले भने प्रत्येक निर्वाचन कार्यलयमा १० जनाको संख्याको संख्यामा प्रहरी खटाएको छ। उपमहानगरपालिकामा सशस्त्र प्रहरी नायब उपरिक्षक, नगरपालिकामा प्रहरी निरिक्षक र गाउपालिकामा प्रहरी नायक निरिक्षक र सहायक निरिक्षकको नेतृत्वमा प्रहरी खटाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
निर्वाचनका लागि सशस्त्र प्रहरीले ४४ वटा मोबाईल टोली र ३२ वटा स्ट्राकिङ टोली परिचालन गर्ने भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धनरले निर्वाचन सफल बनाउन सुरक्षाको तयारीमा सबै निकायसंग छलफल गर्दै रणनिति बनाईरहेको जानकारी दिएका छन्।
खुल्ला सिमानालाई ध्यानमा राखेर आवश्यक रणनिति बनाईरहेको भन्दै प्रजिअ मानन्धरले सर्वसाधारणले ढुक्क भएर मत दिन सक्ने गरी सुरक्षाको ब्यवस्था गरिने बताए।
‘हामी अहिले सुरक्षाको बिषयमा केन्द्रीत छौ, कसैगरी पनि निर्वाचन सफल रुपमा सम्पन्न गर्ने भन्नेमा हामी लागिरहेका छौ' प्रजिअ मानन्धरले भने ‘निवार्चनको वातावरण बनिरहेको छ, यसलाई बिग्रन नदिन हामी सचेत छौ। सुरक्षा ब्यवस्था कडा पारिनेछ।'
निर्वाचनको बिरोध गर्दै आएको राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने भएपछि केही सहज भएको भन्दै प्रजिअ मानन्धरले अन्य चुनौतीका बिषयमा छलफल गरेर रणनिति निर्माण गरिने बताए। बाराको १६ मध्ये ९ स्थानिय तहलाई अति संवेदनशिल, तीनलाई संवेदनशिल र चारलाई सामान्यको सुचिमा राखेर सुरक्षा योजना बनाईरहेको मानन्धरले जानकारी दिए ।