उत्तर कोरियाले हानेको क्षेप्यास्त्र जापानी आकाशमा
उत्तर कोरिया ः उत्तर कोरियाले स्थानीय समय अनुसार मंगलवार बिहान परीक्षण गरेको ब्यालेस्टिक क्षेप्यास्त्र जापानी आकाश हुँदै समुन्द्रमा खसेको छ ।
बिबिसीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको हो । समाचारमा उल्लेख भए अनुसार जापानको उत्तरी होकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको छ।
उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको आकाशमा पुगेपछि सर्वसाधारणलदाई सजग गराउदै साइरन बजेको समाचारमा उल्लेख गरिएको छ । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको बिबिसीले जनाएको छ।
उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार लगत्तै जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरियाले प्रहार गरेको क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन्।
जापानी प्रधानमन्त्रीले नागरिकको सुरक्षाका लागि सरकारले ठूलो प्रयास गरेको दाबी गरेका छन् । उत्तर कोरियाको कदमविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनी जापानले दिइसकेको छ । उत्तर कोरियाले विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरे पनि जापानी आकाशमा भने पहिलो पटक यस्तो प्रहार भएको हो ।
कोरियाले अमेरिकालाई चुनौती दिँदै केही समय अघिमात्र अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको थियो।
स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार स्थानीय समय अनुसार मंगलबार बिहानै जापानको आकाशमा पुगेको क्षेप्यास्त्र समुद्रमा खस्नुअघि तीन टुक्रा भएको हो ।