बुधबारसम्म कांग्रेसले उम्मेदवारको टुंगो लगाउने
काठमाडौं: कांग्रेसले प्रदेश २ को आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट सुरु गरेको छ। कांग्रेसले सुरुमा उम्मेदवार छनोटको जिम्मा जिल्लालाई नै दिए पनि आकांक्षी धेरै देखिएपछि केन्द्रमै सिफारिस गर्न निर्देशन दिएको थियो।
सभापति शेरबहादुर देउवाले जिल्लाबाट आएका नाममध्येबाट उम्मेदवार तय गर्ने जिम्मा महामन्त्री शशांक कोइराला र विमलेन्द्र निधिलाई दिएपछि पार्टीमा त्यसको विरोध भएको थियो। त्यसपछि प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई समेत उक्त जिम्मेवारीमा बाँधेपछि प्रदेशबाट आएका नाममा शनिबारदेखि छलफल सुरु भएको छ।
‘सोमबार पर्सा र धनुषाबारे पार्टी कार्यालयमा छलफल भएको छ', कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भन्छन्, ‘त्यसअघि आइतबार र शनिबार बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबारे छलफल भएको थियो। छलफलमा केन्द्रबाट महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता निधिसँगै २ नम्बरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित सम्बन्धित जिल्लाका पार्टी सभापतिदेखि क्षेत्रीय सभापति सहभागी भएको नेताले बताएका छन्।
मुख्यसचिव पौडेलका अनुसार २ नम्बर प्रदेशको १३६ मध्ये केही स्थानको मात्रै उम्मेदवार टुंगो लगाउन बाँकी छ। एक-दुई दिनभित्रै सबैको टुंगो लाग्ने उनले बताए। २ नम्बरका सबै जिल्लासँग छलफल गरेका केन्द्रीय नेता पार्टी सभापतिसँग छलफल गरेर मंगलबारदेखि बुधबारसम्म उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन प्रयत्नरत छन्।
स्रोतका अनुसार उम्मेदवारी छनोटमा पार्टीभित्रको गुटबन्दीले समेत प्रभाव पारेपछि अन्तिम रूप दिन हम्मे परेको छ। निधिले देउवा खेमाका उम्मेदवारलाई प्राथमिकतमा राखेपछि पौडल समूहका महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायतले असन्तुष्टि जनाइरहेका छन्। गत शनिबार मात्रै महामन्त्री कोइराला निवासमा छुट्टै बैठक गरेर पौडेल समूहले त्यसबारे छलफल गरेको स्रोतको भनाइ छ।