समस्याग्रस्तबाट हटेको दुई वर्षमा चुक्ता पुँजी पुर्याउनुपर्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थालाई पनि दुई वर्षभित्र चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । बैंकको सोमबारको बैठकले कुनै पनि बैंक तथा वित्तीय संस्था समस्या ग्रस्तबाट हटेको दुई वर्षभित्र राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको हो ।
अहिले हटेका वित्तीय क्षेत्रले २०७६ असारमसान्तसम्म चुक्ता पुँजी पुर्याउनु पर्नेछ । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले हट्ने प्रक्रियामा रहेका वित्तीय संस्थाले समस्या ग्रस्तबाट हटेको दुई वर्षभित्र पुँजी पुर्याउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
केही समय अघि अरुण फाइनान्स र जनरल फाइनान्सलाई समस्या ग्रस्तबाट फुकुवा गरिएको थियो । अरुण फाइनान्सलाई गत असारबाट र जनरल फाइनान्सलाई गत मंसिरबाट समस्या ग्रसतबाट हटाइएको थियो । नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट एन्ड बैंकिङ फाइनान्स लिमिटेड, कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडलगायत नौ वटा वित्तीय संस्था समस्या ग्रस्त छन् । राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेका अधिकांश ‘ग’ वर्गाका वित्तीय संस्था छन् ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकले आठ अर्ब, ‘ख’ वर्गका विकास बैंकले दुई अर्ब ५० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यक्षत्र भएका वित्तीय कम्पनीले ८० करोड चुक्ता पुँजी पुर्याउनुपर्नेछ । यसैगरी एकदेखि तीन जिल्ले कार्यक्षेत्र भएका फाइनान्सले ४० करोड चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।