प्रदेश दुर्इको चुनाव सुरक्षामा सात चुनौती
काठमाडौं: सरकारले असोज २ गते हुने तेस्रो चरण स्थानीय तह निर्वाचनको सुरक्षामा ७ मुख्य चुनौती पहिचान गरेको छ। दुई नम्बर प्रदेशको स्थानीय चुनावमा सिके राउत समूह, विप्लव नेतृत्वको माओवादी र विभिन्न सशस्त्र समूहको चुनौतीलाई सबैभन्दा गम्भीर आकलन गरिएको छ। सरकारले चुनावी सुरक्षाका लागि आफ्नो सबैखाले सामथ्र्य केन्द्रित गर्ने भएको छ।
२६ हजार ९८ जना प्रहरीसहित सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी एकीकृत ढंगले परिचालन गर्ने निर्णय सरकारले गरिसकेको छ। आठ जिल्लामा हुने चुनावका लागि तीन हजार पाँच सय ६७ मतदान केन्द्र हुनेछन्।
मुख्य दलबीच संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रियामा लान सहमतिपछि मधेसी दल २ नम्बर प्रदेशको चुनावमा भाग लिन मन्जुर भएका हुन्। त्यसले निर्वाचन सम्भव भए पनि चुनावमा भाग नलिने अन्य समूहबाट चाहिँ ‘सुरक्षा थ्रेट' हुने आकलन गरिएको हो।
गृह मन्त्रालयबाट यस विषयमा तयार पारिएको विशेष रिपोर्टले खुला सीमाका कारण घुसपैठ हुन सक्ने भारतीय आपराधिक समूहको खतरा पनि औंल्याएको छ । अधिकांश पार्टी चुनावमा भाग लिएका कारण आन्तरिक प्रतिस्पर्धाले पनि चुनावी वातावरण धमिलिन सक्ने अनुमान छ। चुनावमा टिकट नपाएकाले पनि चुनाव नचाहने तत्वसँग घुसपैठ गर्नसक्ने अनुमान गरिएको छ।
रिपोर्टले निजामती कर्मचारीभित्रै दलीय आस्थाका कारण पनि चुनाव प्रभावित हुन सक्नेमा सचेत गराएको छ। प्रहरी मुख्यालयका एक डीआईजीले भने, ‘कर्मचारीको राजनीतिक आस्थाका कारण चितवन प्रकरण दोहोरिन सक्छ।' बाढीपहिरोले भत्किएको मूल बाटो र पुल मर्मत हुन नसक्दा चुनाव सकिएपछि समयमै सुरक्षित स्थानमा मतपेटिका लैजानसमेत चुनौतीपूर्ण रहेको बुझाइ प्रहरीको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले २ नम्बर प्रदेशको चुनावको सुरक्षा तयारी पूरा भएको बताए।
तीन हजार सुरक्षाकर्मी थपिने
यसैबीच, असोज २ गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि बारामा मात्रै झन्डै तीन हजार नेपाल र सशस्त्र प्रहरी थपिने भएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा दुवै सुरक्षा निकायले बाहिरबाट थप सुरक्षाकर्मी ल्याउने योजना बनाएका हुन्।
तीन सय चार मतदान स्थल रहेको बारामा तीन हजार संख्यामा नेपाल प्रहरी र करिब दुई हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने भएका छन् । बारामा अहिले आठ सय प्रहरी रहेकोमा दुई हजार तीन सय जना थपिने प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। सशस्त्र प्रहरीले भने ६ सय ७७ सुरक्षाकर्मी बाहिरबाट ल्याउने भएको छ।
निर्वाचनका लागि बारामा एक हजार आठ सय ८७ सशस्त्र प्रहरी खटिनेछन्। बाराका १६ मध्ये ९ स्थानीय तहलाई अति संवेदनशील, तीनलाई संवेदनशील र चारलाई सामान्यको सूचीमा राखेर सुरक्षा योजना बनाइरहेको मानन्धरले जानकारी दिए।