निर्माण ढिलाइले लागत डेढ अर्ब बढ्यो

निर्माण ढिलाइले लागत डेढ अर्ब बढ्यो

बुटवल: राष्ट्रिय गौरवको आयोजनामा रहेको बुटवल-बेलहिया सडक निर्माणमा ढिलाइ हुँदा लागत डेढ अर्ब रुपैयाँ बढेको छ।

सडक समयमा ठेक्का नलाग्नु, सम्झौतापछि ठेकेदारले समयमा काम नसक्दा आयोजनाको लागत बढेको हो। सडक निर्माण ढिलाइ हुनुमा बजेट अभाव पनि कारक रहेको आयोजनाको दाबी छ। लागत वृद्धि हुँदा कमिसनसमेत बढ्ने भएकाले आयोजनाका इन्जिनियरले नै ढिलासुस्ती गर्ने गरेको पाइएको छ।

 

आर्थिक वर्ष ०६८÷६९ मा डिजाइन भएको सडकको ४३ प्रतिशत काम पूरा गर्न बाँकी छ। थप समयानुसार अब १६ महिनामा सडक निर्माण सक्नुपर्नेछ। तर, ६ वर्षमा ५७ प्रतिशत मात्र काम भएकाले थप समयमा सकिने सम्भावना कम छ। सुरुमा ३ अर्ब ५० करोड लागत स्टिमेट गरी टेन्डर आह्वान भएको थियो। आव ०७३÷७४ सम्म सक्नुपर्ने आयोजनामा ढिलाइ हुँदै गएको हो। दुई वर्ष अवधि बढाउँदा डेढ अर्ब लागत बढेको छ। आयोजनाको अवधि ०७५ सालसम्म पुग्दा लागत बढेर ५ अर्ब ८३ करोड पुगेको छ।

सुरुको योजनामा पछि बुटवलको चौराहाबाट गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक थप भएको छ। त्यसका लागि ७० करोड विनियोजन भएको छ । त्यस्तै, भैरहवा-परासी बाइपास सडकलाई चार लेनमा विस्तार गर्ने योजनासमेत थप भएको थियो । सडकमा आकाशे पुल तथा सौर्यबत्ती राख्ने योजना थप भई कुल लागतमा डेढ अर्बभन्दा बढी वृद्धि भएको हो।

सडक विस्तार आयोजनाका इन्जिनियर लीलाबहादुर भण्डारीले सुरुमा एकैपटक टेन्डर नहुँदा लागत बढेको बताए। ‘पहिलो चरणमा सोचेजति काम भएन । पछि बजेट अभाव भयो', इन्जिनियर भण्डारीले भने, ‘महँगी बढेकाले सडकको लागत पनि बढेर गयो।'

आयोजनाले पहिलो चरणको २४ किलोमिटर सडकलाई तीन÷तीन किलोमिटर बाँडेर ठेक्का लगाएको छ। ‘सबै सडक ठेक्कामा गइसकेको छ', उनले भने, ‘अब १६ महिनाभित्रै पूरा हुन्छ।'
यद्यपि, आयोजनाले चौराहाबाट गोलपार्कसम्मको सडकमा परेका घरसमेत हटाउन सकेको छैन। घरधनीले हटाउन नहुने माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेपछि उक्त काम रोकिएको छ। गत वर्ष नै घर भत्काउने तयारी भए पनि राजनीतिक दबाबमा आयोजना पछि हटेको थियो।

उक्किन थाल्यो कालोपत्रे
बुटवल-बेलहिया सडक निर्माणमा ढिलाइसँगै लापर्बाहीसमेत भएको छ। सडक निर्माण पूरा नहुँदै सुरुमा कालोपत्रे भएको भाग उक्किन थालेको छ। राजमार्ग चौराहाबाट शंकरनगरसम्म सडक बीच-बीचमा चिरा परेका छन्। जोगिकुटी चोकनजिकै सडक भत्किएपछि पुनः कालोपत्रे गरिएको थियो। सडक निर्माणमा इन्जिनियरले बेवास्ता गरेको स्थानीयको आरोप छ। ‘ठूलो सडक बनाउँदा पनि लापर्बाही भएको छ', स्थानीय श्यामलाल खत्रीले भने।

बेलहियाबाट भैरहवाको बुद्धचोकसम्म निर्माण भएको सडक पनि फुट्न थालेको छ । आयोजनाले ओभर लोड गाडीका कारण सडक भत्किएको भन्दै ठेकेदारको लापर्बाहीलाई ढाकछोप गर्ने गरेको छ।

संसदीय समितिको चासो
व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले सडक निर्माणमा गुणस्तर र ढिलाइप्रति चासो देखाएको छ। राष्ट्रिय गौरवका आयोजनाको अध्ययन गरिरहेको समितिले रूपन्देहीका गौतमबुद्ध विमानस्थल र ६ लेन सडकको विषयमा अध्ययन सुरु गरेको हो।

समितिका सभापति डोरप्रसाद उपाध्यायले सडक र विमानस्थलको विषयमा अध्ययन भइरहेको जानकारी दिए। ‘सडक समयमा किन बन्न सकेन भन्नेबारे हामीले अध्ययन गरिरहेका छौं, उनले भने। समितिले यी दुई आयोजनाका विषयमा रूपन्देहीमा छलफल चलाउने भएको छ। यही भदौ १९ देखि २१ गतेसम्म सार्वजनिक सुनुवाइ तथा अनुगमन गरिने उनले सुनाए। ‘विकास निर्माणमा नीतिगत भ्रष्टाचार हुने गरेको छ', उनले भने, ‘त्यसको अन्त्यका लागि हामी योजना अनुगमनमा छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.