पत्रकार महिला पुरस्कृत
काठमाडौं : सञ्चारिका समूह नेपालद्वारा स्थापित १५ हजार रुपैयाँसहितको ‘सञ्चारिका समानता पुरस्कार २०७३' सृजना श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार राजधानीमा सम्पन्न सञ्चारिका समूहको २१औं वार्षिक साधारण सभा समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
‘समानताका लागि सञ्चार' भन्ने मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष सञ्चारिका समानता पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३' बारा जिल्लामा बसेर पत्रकारिता गर्दै आएकी रेणु चौधरीलाई दिइएको छ ।
स्व. उमा सिंहको नाममा स्थापित पुरस्कारको राशि सात हजार एक सय ११ रुपैयाँ रहेको छ । यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३' निराशी थामी र रुमु न्यौपानेलाई प्रदान गरिएको छ । पत्रकार थामीले दोलखा जिल्ला र न्यौपानेले काठमाडौंबाट पत्रकारिता गरिरहेका छन् ।
कार्यक्रममा पत्रकार महासंघमा नवनिर्वाचित अध्यक्ष र महिला पदाधिकारी सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धक नियुक्त भएकी सञ्चारिका समूहकी सल्लाहकार हरिकला अधिकारीलाई पनि सम्मान गरियो ।