भारतले रोक्यो गण्डक नहरमा पानी

भारतले रोक्यो गण्डक नहरमा पानी

त्रिवेणी (नवलपरासी): गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ।भारतले पानी रोकेका कारण गण्डक जलविद्युत् गृहबाट बिजुली उत्पादन ठप्प भएको छ।

भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका-१ र २ का स्थानीयले १० दिनअघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए। त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको हो।

 

पश्चिम नहरको पानीले गुठीसूर्यपुरास्थित जलविद्युत् गृहबाट बिजुली उत्पादन हुने गर्दछ। १५ मेगावाट विद्युत् उत्पादन हुने गरेकोमा पछिल्लो समय सात मेगावाटमा सीमित छ । विद्युत् नेपालले उपभोग गर्दै आएको छ। नहरको पानीले पर्सा हुँदै भारतको बिहारसम्म सिँचाइ सुविधासमेत उपलब्ध छ।

डुबानमा परेको धानसहित अन्य बालीको क्षतिपूर्ति नपाएसम्म नहरमा पानी आउन नदिने चेतावनीपछि भारतले पानी दिन छाडेको हो। स्थानीय राइपुरवा खोलाका कारण सुस्ताका छिवनी, फेचुवा, सत्पती, महलवारी र हरखपुरा गाउँ डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको पूर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीय टुनाखर बस्यालले बताए।

भारतले नहरमा पानी छाडे पनि डिल नपुरेसम्म पर्याप्त नहुँदा विद्युत् उत्पादन हुन नसक्ने गण्डक भूआर्जन जनसम्पर्क कार्यालय वाल्मीकिनगरका जनसम्पर्क अधिकारी सञ्जय मि श्रले जानकारी दिए। स्थानीयको चेतावनीका कारण भारतले नहरमा पानी नदिएको अधिकारी मि श्रले बताए । त्यही कारण १० दिनयता विद्युत् उत्पादन ठप्प भएको उनले सुनाए।

पानीको निकासका लागि बनाएका ड्रेन सफा नगर्दा खोलाको बाढीले डुबानमा परेको भन्दै आक्रोशित स्थानीयवासी दुईपटक नहर भत्काउने भन्दै आक्रोशित बनेका थिए। त्यस क्रममा उनीहरूले बाँधको डिल काटेर कुलो बनाएका हुन्। पानीको निकासका लागि सातवटा ड्रेन छन्।

पहिलोपटक नहर भत्काउन आएका स्थानीयका माग पूरा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा भारतीय पक्षसँग बैठक भएको थियो। उक्त बैठकको सहमतिअनुसार भारतले बालीनालीको क्षतिपूर्ति नदिएको भन्दै स्थानीयले पुनः बाँधको डिल काटेका हुन् । स्थानीय र प्रशासनबीच क्षतिपूर्ति संकलनका लागि समिति गठन गर्ने सहमति भएको थियो। सहमतिअनुसार गठित समितिले क्षतिको विवरण संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

भारतीय पक्षलाई उद्धृत गर्दै प्रजिअ मगरले आगामी फागुनदेखि सबै साइफनको सफाइ र मर्मत गरिने जानकारी दिए। डिसेम्बरपछि भारतमा नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले बजेट विनियोजन गरी मार्चमा काम सुरु गर्न भारतले सहमति जनाएको उनले बताए। उनका अनुसार तत्काललाई डुबानको मुख्य समस्याका रूपमा रहेको राइपुरवा खोला सफा गर्ने काम सुरु भएको छ।

खोलाहरूको निकास नहुँदा बर्सेनि डुबानमा पर्दै आएको अर्का स्थानीय एकनारायण न्यौपानेले जानकारी दिए। नहरका डिल भत्काउँदा पश्चिम नहरमा आउने पानी ठेलिएर गाउँतिर डुबान हुने जोखिमसमेत देखिएको छ। ‘बाँध काटेर नहरमा पुग्ने गरी बनाइएको कुलोबाट उल्टै गाउँमा पानी आउन सक्छ', स्थानीय कृष्ण डुम्रेले भने, ‘जसरी पनि डुबानमा पर्ने भएकाले सदाका लागि समस्या समाधान गर्न भारतीय पक्षलाई दबाब दिन डिल काटेका हौं।'

बिहीबार भारतीय पक्षसँग बैठक

डुबानका कारण क्षति पुगेको बालीको विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ। गण्डक सिँचाइ डिभिजन कार्यालय सेमरीका प्रमुख दीपेन्द्र सहनीको अध्यक्षतामा आठसदस्यीय क्षति मूल्यांकन समिति गठन भएको प्रमुख जिल्ला अधिकारी मगरले बताए। समितिले बुधबारसम्म क्षतिको विवरण संकलन गर्नेछ।

क्षतिको विवरणसहित अन्य विषयमा छलफल गर्न बिहीबार जिल्ला प्रशासन कार्यालयमा भारतीय पक्षसँग बैठक हुने भएको छ। डुबानका कारण २५ सय हेक्टरमा लगाएको बालीसहित तीन करोड रुपैयाँबराबरको क्षति भएको स्थानीयको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.