सुुरु भयो थारू समुुदायको दसैं
महेन्द्रनगर : पश्चिम नेपालका डगौरा थारू समुदायमा दसैं सुरु भएको छ । डगौरा थारू समुदायले ‘हरई गुरई' पूजन गर्दै दसैं पर्व सुरु गरेका हुन् । डगौरा थारू समुदायमा यो पूजा गरिसकेपछि दसैं सुरु भएको मानिन्छ । एक महिनासम्म उनीहरूले सखिया नाच नाच्दै दसैं भित्र्याउने गर्छन् । पूजापछि त्यही दिनबाट समुदायमा सखिया नाच सुरु हुन्छ । सखिया नाचलाई उनीहरूले दसैं पर्वको विशेष नाचका रूपमा लिन्छन् ।
डगौरा थारू समुदायमा धानखेती गरिसकेपछि ‘हरई गुरई' पूजा गर्ने चलन रहेको वेदकोट नगरपालिका-७, मन्दिरपुरका धनबहादुर डगौराले बताए । ‘हाम्रो पुर्खादेखि चलेको चलन हो, अहिले पनि मान्दै आएका छौं', उनले भने, ‘धानखेती सकेपछि ‘हरई गुरई' पूजा गर्छौं ।' उनका अनुसार धानखेती गरिसकेपछि पूजा गर्ने र त्यसै दिनदेखि सखिया नाच पनि सुरु गरी दसैंको तयारी गरिन्छ । दसैं आउन एक महिना बाँकी भए पनि दसैंसम्म उनीहरूले सखिया नाच गर्दै भगवान् कृष्णको लीला गाउने गर्छन् ।
‘पुर्खादेखि एक महिनासम्म सखिया नाच्ने गरिँदै आएको हो', देवीलाल डगौराले भने, ‘कृष्णलीला गाउँदै घरघरमा गएर नाच्ने गरिन्छ ।' डगौरा थारू समुदायमा खेतमा लगाएको धानबालीमा कीरा नलागोस्, बाली राम्रोसँग सप्रियोस् भनेर पूजा गर्ने चलन छ । अघिल्लो दिन पूजा गरेर अर्काे दिन बिहानै मन्त्र गरेको दूध धानमा छर्किने गरिन्छ । बडघर (मुखिया)को घरमा पूजा गरिसकेपछि सबैले त्यस दिन सामूहिक प्रसाद ग्रहण गर्ने गर्छन् । हरई गुरई पूजालाई उनीहरूले हरेरी पूजा पनि भन्ने गर्छन् । ७० वर्षीय देवीलाल डगौराका अनुसार हरई भनेको हरियो र गुरई भनेको पूजा गर्नु हो । त्यसलाई छोटो रूपमा ‘हरई गुरई' भन्ने गरिएको उनले प्रस्ट्याए ।
भदौ लागेपछि मात्रै उनीहरूले पूजा गर्ने गर्छन् । ‘युवापुस्तालाई पनि पुर्खादेखि गर्दै आएको रीतिरिवाजबारे जानकारी होस् भनेर हामीले निरन्तरता दिनुपर्छ', वेदकोट नगरपालिका-७ का वडाअध्यक्ष वीरबहादुर डगौराले भने, ‘डगौरा थारू समुदायको पहिचान बचाइराख्न स्थानीय सरकारले समेत निरन्तरता दिनेछ ।' वेदकोट नगरपालिकाले समेत हरेक समुदायको पहिचानलाई संरक्षण गर्न केही बजेटसमेत विनियोजन गरेको वडाअध्यक्ष डगौराले बताए ।