बाढीले साढे दुई करोडको खाद्य बाली नष्ट
हेटौंडा : मकवानपुरमा बाढीपहिरोबाट दुई करोड ५८ लाख २९ हजार रुपैयाँबराबरको खाद्यान्न तथा बाली क्षति भएको छ । ६ सय ३६ हेक्टरमा लगाइएको खाद्यान्न तथा तरकारी बाली नष्ट हुँदा दुई हजार नौ सय १५ परिवार प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै एक करोड २६ लाख रुपैयाँबराबरको धानबाली नष्ट भएको छ ।
मनहरी गाउँपालिकामा दुई सय ५०, बकैया गाउँपालिकामा १५, वाग्मती गाउँपालिकामा एक सय ३५, मकवानपुरगढी गाउँपालिकामा ६६ र राक्सिराङ गाउँपालिकामा १५ हेक्टरमा लगाइएको धानबाली नष्ट भएको कार्यालयकी बाली विकास अधिकृत रचना देवले जानकारी दिइन् । मनहरी गाउँपालिकामा पाँच हेक्टर पोखरीमा रहेको १० लाख रुपैयाँबराबरको माछा, इन्द्रसरोवर गाउँपालिकामा वर्षात्का कारण सडक अवरुद्ध हुँदा १५ मेट्रिक टन तरकारी नष्ट भएको उनले बताइन् ।
बाढीपहिरोबाट भएको क्षतिबारे विवरण आउने क्रम जारी छ । त्यसैले क्षतिको परिमाण बढ्न सक्छ ।
कार्यालयको तथ्यांकअनुसार विभिन्न गाउँपालिका र थाहा नगरपालिकामा एक सय ५० हेक्टरमा लगाइएको एक करोड रुपैयाँबराबरको भेडे खुर्सानी नष्ट भएको छ । वर्षात्को क्षतिका कारण भेडे खुसार्नीको पनि उत्पादकत्व घट्ने कार्यालयकी कृषि विकास अधिकृत देवले बताइन् ।
४१ मेट्रिक टन खाद्यान्न नष्ट
अविरल वर्षात्सँगै बाढीपहिरोका कारण मकवानपुरमा करिब ४१ मेट्रिक टन खाद्यान्न नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नौ लाख ५१ हजार रुपैयाँबराबरको ३० दशमलव ४८ मेट्रिक टन सञ्चित खाद्यान्न र ६ लाख ९३ हजार मूल्यबराबरको १० दशमलव ७४ मेट्रिक टन सञ्चित बीउ नष्ट भएको हो । सबैभन्दा बढी १२ मेट्रिक टन धान नष्ट भएको कार्यालयको तथ्यांक छ ।
बाढीपहिरोबाट क्षति भएको विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने जिल्ला कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले बताए । ‘हामीले हालसम्म प्राप्त क्षतिको विवरण माथिल्लो निकायमा पठाएका छौं', उनले भने, ‘पीडित किसानलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन पहल गरिरहेका छौं।'