नेपालगन्जमा फोहोर फाल्ने ठाउँको अभाव

नेपालगन्जमा फोहोर फाल्ने ठाउँको अभाव

नेपालगन्ज: नेपालगन्ज उपहानगरपालिकाको फोहोर बोकेको ट्र्याक्टर केही दिनअघि बजारनजिकै गाउँमा जाँदै थियो। स्थानीयवासीले ट्र्याक्टर रोके अनि चालकलाई नियन्त्रणमा लिए । उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा गएर ट्र्याक्टर र चालकलाई छुटाएर ल्याउनुपर्‍यो।

 

फोहोर फाल्ने निश्चित ठाउँ नभएपछि यस्तो समस्या पटक–पटक हुने गरेको छ। दैनिक ३५ टनभन्दा बढी फोहोर निस्किने गरेकामा मुस्किलले आधा उठ्छ। तर, फाल्ने ठाउँ नहुँदा समस्या हुने गरेको हो। फोहोर बोकेका ट्र्याक्टर त्यसको व्यवस्थापन गर्ने ठाउँ खोज्दै गुडिरहेका हुन्छन्। कतिपय गाडी फोहोर फाल्ने ठाउँ नपाएपछि नगरपालिका परिसरमै थन्किएका देखिन्छन्।

‘फोहोर फाल्ने निश्चित र स्थायी ठाउँ छैन, त्यसैले समस्या भएको हो', उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डीसी भन्छन्, ‘स्थायी ल्यान्डफिल साइटको काम पनि भइरहेको छ तर अझै समय लाग्छ होला, त्यतिन्जेल यस्तै समस्या झेल्नुबाहेक अरू केही उपाय छैन।'

उपहानगरपालिकाले साप्ताहिक रूपमा सरसफाइ अभियान चलाएको छ। ५०औं साता पार गरिसके पनि अभियान मुख्य सडकमा मात्र केन्द्रित छ। भित्री गल्ली र सडकमा फोहोरका थुप्रो यत्रतत्र देख्न सकिन्छ। ‘यो त खासमा जनतामा चेतना जागोस् भनेर सञ्चालन गरिएको अभियान हो, सधैं नगरपालिका गएर फोहोर सफा गर्ने भन्ने हुँदैन', इन्जिनियर डीसी भन्छन्, ‘पहिलाभन्दा चेतना त बढेको छ तर भित्र–भित्र पुग्न सकिएको छैन।'

फोहोर उठाउन दैनिक ६ वटा ट्र्याक्टर प्रयोग हुन्छन्। तीन निजी संस्थाले पनि नगरपालिकासँग सम्झौता गरी घर–घर पुगेर फोहोर उठाइरहेका छन्। अस्थायी रूपमा बजारबाट केही पर रहेको खुला ठाउँमा फोहोर बिसर्जन हुन्छ।

‘बजारवासी सबैले आआफ्नो घरआँगन सफा राख्ने अनि अगाडिको सडकमा फोहोर नगर्ने हो भने कोही आएर सफा गर्नै पर्दैन', उनी भन्छन्, ‘अब स्थायी डम्पिङ साइट बन्यो भने पनि समस्या केही समाधान होला । सबैभन्दा ठूलो कुरा आमनगरवासीमा सरसफाइको चेतना हुनुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.