बाढीमै बालुवा निकाल्छन् महिला

बाढीमै बालुवा निकाल्छन् महिला

फिदिम: हेवा खोलामा उर्लेको बाढी देख्दा फिदिम -४ की ४४ वर्षीया सरस्वती तामाङको मन गदगद हुन्छ। उनी बिहान झिसमिसे नहुँदै श्रीमान् डिल्लीरामसँग हातमा बेल्चा बोकेर खोलामा पुग्छिन्। खोलामा आधा शरीर डुबेर बालुवा निकाल्न उनलाई अलिकति पनि हिच्किचाहट हुँदैन यसरी बालुवा निकाल्न पाउँदा उनलाई ‘संसार जिते'जस्तो लाग्दोरहेछ।

 

 

खोलामा बाढी उर्लेपछि प्रशस्त बालुवा पाइने भएकाले जोखिम मोल्नु तामाङ दम्पतीको बाध्यता हो। ‘बालुवा बेचेरै बाँच्नुपर्ने बाध्यतामा रहेका हामीजस्ताका लागि बाढी आउनु राम्रो हो', उनले भनिन्, ‘यस्तै बाढीले नै बचाउँछ हाम्रो जिन्दगी।'

बाढीले धेरै नेपालीलाई घरबारविहीन मात्र पारेको छैन, परिवारका सदस्यसमेत गुमाउनुपरेको छ। बाढीले धेरैलाई बिचल्लीमा पारेको छ। तर, बालुवा बेचेरै बाँच्नुपर्ने बाध्यताले जोखिममा रमाउन तामाङ दम्पतीको बानी परिसकेको छ। बाढीपछि खोलाबाट बालुवा निकाल्न पाउँदा छोराछोरीको शिक्षादीक्षा र पालनपोषणका लागि खर्च जुटेजस्तो लाग्छ, उनीहरूलाई।

आम्दानीको अर्को स्रोत नभएपछि बालुवा बेचेरै नौजनाको परिवार धान्दै आएको उनले सुनाइन्। प्रतिट्र्याक्टर २५ सय रुपैयाँमा बालुवा बेच्ने गरेको यो दम्पतीले बाढी आएको एकै दिन एक ट्र्याक्टर निकाल्ने गरेको छ। राम्ररी बालुवा निकाल्न पाए वर्षमा तीन लाख रुपैयाँ कमाइ हुने उनले बताइन्।

उनीजस्तै तारा चोङ्बाङ पनि हेवा खोलाकै बालुवा निकालेर गुजारा चलाउँछिन्। उनी पनि छोरी १६ वर्षीया सुषमालाई लिएर बाढीपछि खोलामा बालुवा निकाल्न जान्छिन्। ‘आमा -छोरी भएर एक दिन एक ट्र्याक्टर बालुवा निकाल्छौं,' उनले भनिन्, ‘केटाकेटीको पढाइ र घरखर्च चलाउन बाढी आएको खोलाबाट बालुवा उघाउनुपर्ने बाध्यता छ।'

हेवा खोला किनार आसपासका भारपा, नागिन र फिदिमका करिब एक सय घरपरिवार खोलाको बालुवामा निर्भर छन्। यहाँका करिब चार सय स्थानीयले बालुवा बेचेरै जीवनयापन गर्ने गरेको फिदिम -४, थापाटारका युवराज डाँगीको भनाइ छ।

असारदेखि तीन महिना खोलामा प्रशस्त मात्रामा बालुवा पाइने भएकाले जोखिम मोलेर उनीहरूले बालुवा निकाल्ने गरेका हुन्। तर, मुख्य सिजनमै स्थानीय प्रशासनले बालुवा निकाल्न रोक लगाउने गरेकाले बालुवा बेचेर गुजारा चलाउनेहरूलाई समस्या हुने गरेको डाँगीले सुनाए।

नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने मापदण्ड रहे पनि उनीहरूले बालुवा निकाल्नुको विकल्प देखेका छैनन्। परिवार चलाउन बालुवा निकाल्नुपर्ने बाध्यता रहेको खोला किनारमा बसोबास गर्नेहरूको भनाइ छ। पहाडको खोलाबाट व्यवस्थित ढंगले बालुवा निकाल्दा असर नपर्ने फिदिम -४ का वडाध्यक्ष प्रकाश गुरुङको ठम्याइ छ। बालुवा बेचेर गुजारा चलाउनेहरूका लागि स्थानीय प्रशासन बाधक बन्न नहुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.