‘बाँकी जीवन बिलौना गर्दै बित्ने भो'

‘बाँकी जीवन बिलौना गर्दै बित्ने भो'

भोजपुर : बुढेसकालमा नातिको लास समेत देख्न नपाएपछि अझै बिलौना नगरी कुनै दिन, कुनै रात, कुनै क्षण, कुनै प्रहर बित्दैन, गत असार १२ गते बितेका १४ बर्षीय रञ्जितकी ७६ बर्षीय हजुरआमा कौशिला सापकोटा । हरबखत कान्छो नातिको यादमा डुबेर रोइरहने ती बुढीआमा डुब्ने बेलाको घाम भइसकेको उमेरमा आफ्नै नातिको मृत्यु देख्नुपर्दा मनले रतिभर थेग्न सक्दिनन् ।

‘आफु मर्नेबेलामा नाति मरेको सुन्नुअघि भगवानले पनि किन मलाई लगेन । मेरै छेउमा आएर सुत्थ्यो मेरो नाति, अझै आधारातमा ओछ्यान छाम्ने गर्छु, मन थाम्न सक्दिन । बाँकी जीवन अब नातिकै बिलौनामा बित्ने भो ।' उनले भनिन् । कमजोर भइसकेका नयनबाट चाउरी परेका आँखाको डिलमा अश्रुमोति खसाल्दै बुढीआमै भावुक बनिन् । ‘ती पापीहरुलाई मेरा कलिला नानी मार्दा कस्तो दयामाया नभा'को, तिनीहरुको कहिल्यै भलो हुनेछैन । तिनीहरुलाई पनि त्यसरी नै सजाय भोग्नुपरोस् ।' बुढीआमैले गुनासो पोखिन् ।

आफ्ना दुई छोराछोरी प्रदीप र सुष्मा गुमाउनुको पिडा चेतनाथ र निर्मलालाई पनि उत्तिकै छ । चेतनाथ र रविन्द्रका परिवारलाई न दिनमा तिर्खा छ, न रातमा निद्रा । साँझ बिहान शोकमा डुबेको शोकाकुल परिवारजनलाई ब्यथा, पीडा त छँदैछ, त्यसमाथि हत्यारा पत्ता नलाग्दा फेरि त्यस्तै घटना दोहोरिने त हैन भन्ने मनमा ठुलो त्रास बोकेर जीवनचर्या चलाइरहेका छन् ।

रविन्द्र सापकोटा कृषि कार्यालयका कर्मचारी हुन् । घटनामा छोरो गुमेपछि उनले जागिर छाडिसकेका छन् । यता चेतनाथ स्थानीय प्याउली बजारमा एउटा सानो फेन्सी दोकान चलाएर परिवारलाई जेनतेन धानिरहेका थिए । घटना बितेको महिनौ बित्दासम्म दोषी पत्ता नलागेपछि जायजेथा सबै बेचेर परिवारलाई त्रासको बातावरणबाट टाढा राख्न विस्थापित गराउने अवस्थामा चेतनाथ पुगेका छन् ।

भा'को त्यही सानो फेन्सी पसल पनि चेतनाथले सोही गाउँका अर्का छिमेकी केशव अधिकारीलाई साढे ४ लाख रुपैयाँमा बेचिसकेका छन् । घरमा भएको एउटा लैनो भैँसी पनि ५० हजारमा बेचिसकेका छन् । गाउँमा चैनका साथ बस्ने बातावरण नभएको उनी बताउँछन् । ‘भाएको जायजेथा सबै बेचिसकेँ । कुनै आश छैन, फेरि पनि ती पापीका यस्तै अपराधको शिकारमा बाँकी हामी पर्न सक्दैनौ' चेतनाथले भने ।

मराङडाँडा गाउँमा मात्र नभई सिंगो अरुण गाउँपालिकामा अहिले कुनै शान्तिसँग बस्ने ठाउँ छैन । गाउँपालिकाका सबै गाउँ-गाउँका गाउँलेहरु त्यही घटना दोहोरिने त्रासमा डर बोकेर बसेका छन् । ‘प्याउली मात्र नभई चम्पे, याकु, चरम्बी, जरायोटारका गाउँलेहरु यो घटनाको हत्यारा पत्ता नलाग्दा भयभित भएका हुन् । ‘हाम्रो ठाउँमा पनि यस्तो घटना घट्ने होकी भन्ने सबै जनमानसमा त्रास छ, यसरी समाजका हिंस्रक ब्वाँसाहरु हाम्रै वरिपरि घुमिरहँदा खै कसरी पो बाँच्ने हो' उनले भने।

 

अरुण गाउँपालिका २, चम्पे सोरेङ निवासी इन्द्रबहादुर पुलामी मगरले भने, ‘बिशेष गरी गाउँतिरका महिला, बच्चा, बुढाबुढीहरु घर छाडेर बाहिर जादैनन् । साथी लिएर बस्छन् । अनुसन्धानमा खटिएका प्रहरीले दोषी पत्ता नलगाउँदा गाउँलेहरु त्रासको शिकार बनेको अवस्था छ ।' जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरले संयुक्त रुपमा अनुसन्धान सुरु गरेपनि अनुसन्धान ढिलो र रहस्यमय बन्दै जाँदा स्थानियबासीले गुनासो पोखेका छन् । त्यसपश्चात केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गत साउन १३ देखि घटनास्थलमै आई छानबिनमा खटेको थियो । अनुसन्धान ब्युरोका अधिकृत ददिराम न्यौपानेको नेतृत्व टोली साउन २३ गतेसम्म अनुसन्धान गरी राजधानी फर्केको थियो ।

यता तात्कालीन डीएसपी काजीकुमार आचार्यले भने ‘अनुसन्धान भइरहेको, थप भन्न नसिकने' वाक्य दोहोर्‍याइरहन्थे । डिएसपी काजीकुमारको भदौ ७ गते सरुवा भइसकेको छ । त्यस्तै पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेशराज भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। ‘हाम्रो काम भनेको सत्यतथ्य पत्ता लगाउने हो, सर्वसाधारणले यसलाई कसरी लिन्छन्, त्यसैमा भर पर्ने कुरा हो, प्राविधिक परीक्षण जारी रहेको छ । घटनाबारे जसरी पनि पत्ता लागिछाड्नेछ,' भट्टराईले भने ।

प्रदीप र सुष्माकी १२ वर्षीया बहिनी सुस्मिता फुँयाल ।

यसअघि नै कांग्रेस सांसद कुमारीलक्ष्मी राईले संसदमा अनुसन्धानका लागि ल्याइएको प्रहरीको कुकुर सेनाको बिटमा पस्न लाग्दा जबरजस्ती तानिएको भन्दै वक्तव्य दिएकी थिइन् । स्थानीय प्याउलीवासी र गाउँपालिकाका कर्मचारीहरु पनि अनुसन्धानमा खटाइएको कुकुरलाई जबरजस्ती एक हवल्दारले तानेको बिषयमा गम्भीर देखिएका छन् । यसमा उनीहरुको आशंका झनै बढेर गएको छ । ‘अनुसन्धानमा ल्याइएका कुकुरलाई किन त्यसको काम गर्नबाट रोक लगाइयो, किन हवल्दारले कुकुरलाई तानेर काम गर्न दिएन । यसले हामीलाई शंकाको बिज रोप्न बाध्य बनाएको छ ।' स्थानीय खगेन्द्र कार्कीले आक्रोश पोखे ।

दोषी पत्ता लगाउन दबाब दिनका लागि स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा गत असार १९ गते २० सदस्यीय संघर्ष समिति गठन गरेको थियो । समितिले घटनापछि ६६ किलोमिटर भोजपुर-लेगुवा नारदमुनि थुलुङ राजमार्गमा अरुणवासीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, विस्थापित हुनबाट रोक्नुपर्ने, हत्यारा चाँडो पत्ता लगाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायत माग राख्दै चक्काजाम तथा सरकारी तथा गैरसरकारी कार्यालय ठप्पसमेत पार्दै आएका छन् । गत साउन ३१ गते संघर्ष समितिले प्याउलीबजारमा नागरिकता बनाउने घुम्ती शिविर लिएर आएका सहायक प्रजिअ राजन पाण्डेलाई हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नेपाली कांग्रेसद्धारा गृहमन्त्रीलाई प्याउली घटनाको ध्यानाकर्षण

असार १२ गते भएको तीन बालबालिकाको रहस्यमय घटनाको अनुसन्धान ढिला भएको भन्दै नेपाली कांग्रेस भोजपुरले गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति नन्दमणि राईको संयोजकत्वमा गृहमन्त्रालय पुगेको प्रतिनिधि टोलीले प्याउली घटनाको विषयमा गृहमन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए । घटना घटेको दुई महिना पुरा भइसक्दा पनि घटनाको दोषी पहिचानमा ढिलाई भएको भन्दै दोषिलाई चाँडो पत्ता लगाउनुपर्ने मागसहित गृहमन्त्रीको ध्यानाकर्षण गराएको नेपाली कांगे्रस भोजपुरका सभापति नन्दमणि राईले बताए ।

गृहमन्त्री शर्माले प्याउली घटनाको अनुसन्धानमा सिआईबी टोलीको प्रतिवेदन अन्तिम तयारीमा रहेको र प्रतिवेदन सार्वजनिक भएपछि घटनाबारे निर्णय लिइने सभापति राईले बताए । गृहमन्त्री शर्माले आगामी हुने मन्त्रिपरिषद्को बैठकमा मृतक बालबालिकाका पीडित परिवारलाई आवश्यक राहात र क्षतिपूर्ति दिने आश्वासन दिएको राईले जानकारी दिए ।

प्रतिनिधि मण्डलमा सभापति राईसहित नेपाली कांग्रेस भोजपुरका पूर्व जिल्ला सचिव एबम् नवनिर्वाचित भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले, कोषाध्यक्ष सफल किँरात, नेता उमेशजंग रायमाझी, बिनोद बान्तावा लगायतको प्रतिनिधित्व रहेको थियो । दोश्रो चरणको स्थानीय तहको निर्वाचन समयमा तीन बालबालिकाको निर्मम हत्याको अनुसन्धानमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत साउन १२ गतेबाट अनुसन्धान थालेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.