एचआईभी संक्रमितले उब्जाए तीनगुणा बढी गोलभेडा
भक्तपुर: एचआईभी/एड्सको अहिलेसम्म पूर्ण उपचार हुन सकेको छैन्। त्यसैले एचआईभी/एड्स संक्रमण भएपछि आफ्नो पूरै जिन्दगी सिद्धियो भनेर निराश हुने तथा पूरै जीवन निस्क्रियतामा बिताउनेहरुको संख्या कम छैन। अझ कति त आफू एचआईभी/एड्स संक्रमित हुँ भन्नसमेत डराइरहेका छन्। समाजबाट हुने हेलाहोचो, भेदभाव एवं लाञ्छनाको कारण संक्रमितहरु खुल्न सकेका छैनन्।
तर भक्तपुरक केही एचआईभी/एड्स र पूर्वलागूपदार्थ दुव्र्यसनीहरुले हिम्मतिलो काम गर्दै आएका छन् । उनीहरुले अरु सामान्य नागरिकसरह मेहनतकस जीवन बिताउँदै आएका छन् । जसको फलस्वरुप उनीहरुले चार वर्षको बीचमा तीन गुणा बढी गोलभेडा फलाएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा व्यवसायिक आधुनिक गोलभेडा खेती गर्दै आएका उनीहरुले यस वर्ष तीन गुणा बढी उत्पादन लिएका हुन्।
‘गएको वर्ष जम्मा तीन हजार किलो उत्पादन लिन सक्यौं', फार्म व्यवस्थापन गर्दै आएको सुरुवात सामुदायिक उपचार तथा पुनस्र्थापना केन्द्रका अध्यक्ष राजेन्द्र पुरीले भने, ‘यस वर्ष नौ हजार किलो उत्पादन भयो। अझै उत्पादन भइरहेको छ।'
यस वर्ष गोलभेडा खेतीमा थोपा सिंचाइको व्यवस्था गरिएकोले पनि उत्पादन बढेको उनी बताउँछन्। सुरुवातले एचआईभी संक्रमित र तिनका परिवार तथा पूर्वलागूपदार्थ दुव्र्यसनीहरुको लागि चार वर्षअघि आधुनिक गोलभेडा खेती सुरु गरेको थियो। सुरुको दुई वर्ष एकरोपनीमा गरिएको उक्त खेती सफल भएपछि गएको वर्ष तीन रोपनी थपेर चार रोपनीमा गोलभेडा खेती विस्तार गरेको थियो। तर गएको वर्ष रोगकीरा र मेहनत नपुग्दा कममात्रै उत्पादन लिन सकिएको अध्यक्ष पुरी बताउँछन्।
सुरुवातको फार्ममा ६ महिला र पाँच पुरुष गरी एघारजना एचआईभी संक्रमित, पूर्वलागूपदार्थ दुव्र्यसनी तथा तिनका परिवारहरुले काम पाइरहेका छन्। उनीहरुले कृषि प्राविधिक शिव यन्द्योको प्रत्यक्ष निर्देशन एवं निगरानीमा गोलभेडा खेती गर्दै आएका छन्।
‘चार रोपनी क्षेत्रफलमा १० वटा टनेल रहेका छन्', सुरुवातका कार्यक्रम निर्देशक राजेश दिदियाले थपे, ‘अहिले एकहप्तामा सातसय किलो गोलभेडा उत्पादन भइरहेको छ।'
उनका अनुसार तीन दिनमा एकपटक गोलभेडा टिप्दै आएको छ। एकपटक टिप्दा करिब चार सय किलो गोलभेडा हुन्छ। गोलभेडा लिन व्यापारी फार्मसम्मै पुग्ने भएकाले बजारीकरणको समस्या नभएको उनले सुनाए। तर व्यापारीलाई दिँदा कम भाउ हुने गर्छ। त्यसैले अर्को वर्ष आफैले बजारीकरण गर्ने तयारी अघि बढाइएको कार्यक्रम निर्देशक दिदिया बताउँछन्। ‘कृषिमा बिचौलियाको समस्या नयाँ होइन', उनले भने, ‘अर्को वर्ष हामी आफैले उत्पादन बजारसम्म पु¥याउने प्रक्रिया अघि बढाएका छौं।'
उत्पादनले बजारको सही मूल्य पाउने हो भने कृषिबाटै उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालनमा धेरै सघाउ पुग्ने सुरुवातका अध्यक्ष पुरीको दावी छ।
उनले जसोतसो चलेको केन्द्र गोलभेडा खेती गरिएपछि राम्रोसँग चले पनि यसको दिगोपनाको लागि आत्मनिर्भर बनाउनुको विकल्प नभएको सुनाए। उनका अनुसार एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले यस वर्ष गोलभेडा खेतीको अभिवृद्धि गर्न आर्थिक सहयोग गरेको छ।
‘यस वर्ष गोलभेडा उत्पादन बढेसँगै भाउ पनि राम्रै आएकाले एचआईभी संक्रमित, पूर्वलागूपदार्थ दुव्र्यसनी र तिनका परिवारहरु उत्साहित भएका छन्', अध्यक्ष पुरीले भने, ‘क्षेत्रफल बढाएर बढीभन्दा बढी संक्रमित, पूर्वलागूपदार्थ दुव्र्यसनी र तिनका परिवारहरुलाई जिविकोपार्जनमा सहयोग गर्नुपर्ने प्रस्ताव आएको छ।'
सुरुवातले आधुनिक गोलभेडा खेती गरेसँगै ६० जनाभन्दा बढी एचआईभी संक्रमित र पूर्वलागूपदार्थ दुव्र्यसनी तथा तिनका परिवारहरुलाई व्यवसायिक गोलभेंडा खेती र उपचार साक्षरता तालिम दिइसकेको छ।