भौतिक मन्त्रालयका सचिवको गाउँमा सडकको कन्तविजोग
झुले(दोलखा) : तामाकोशी गाउँपालिका वडा नम्वर दुई झुले घर भएका कुलबहादुर तामाङलाई केहि दिन अघि चरीकोटसम्म पुग्न झण्डै चार घण्टा लाग्यो । उनी जस्तै सयौ यात्रुहरुको अवस्था दैनिक रुपमा उस्तै छ । हिउँदमा दुई घण्टामै चरीकोट पुग्ने बाटोमा अहिले ठाउँ ठाउँमा ठुला ठुला खाल्डाखुल्डी परेको छ । हिलोको कारण धेरै गाडीहरु फस्ने गरेको छ ।
दैनिक जसो पर्ने पानीको कारण सडकको अवस्था नाजुक भएपछि स्थानीयहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । नेपाली राजनितिका आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको पहलमा २०५३/०५४ बाट सडक निर्माणको काम थालिएको थियो । निर्माण कार्य भएको करिब २० बर्ष बितिसक्दा पनि सो सडकको हालत उस्तै रहेको स्थानीय बासिन्दा बताउँछन् । विशेष गरी बर्खायाममा दैनिक जसो गाडी फस्ने गरेको कारण यातायात सञ्चालन गर्नकै लागि समस्या भएको स्थानीय व्यवसायी एवंम गाडी चालक कृष्ण तामाङले बताए ।
दोलखाको ग्रामिण सडकहरु मध्ये बाह्रै महिना यातायातको साधन चल्ने सडकको रुपमा लिइने भीरकोट झुले छौडे सडकको ग्राबेल मात्र गर्न सके पनि त्यस आसपासका स्थानीयहरुलाई ठुलो राहत मिल्ने तामाकोशी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष हर्कबहादुर योञ्जनले बताए । उनले सहज रुपमा नभएपनि दैनिक रुपमा यातायातको साधन चलिरहेको बताउदै सडकको स्तरउन्नती आवश्यक रहेको बताउदै त्यसको लागि भौतिक मन्त्रालयका सचिबले पहल गरेमा सहज हुने बताए ।
भौतिक मन्त्रालयका सचिब देबेन्द्र कार्कीको घर पनि झुले २ मै पर्छ । उनी पनि दशै लगाएत विभिन्न समयमा त्यही बाटो भएर घर आउने जाने गर्छन । दुई पटक सडक विभागका प्रमुख समेत भइसकेका कार्कीले भीरकोट झुले छौडे सडकको स्तरउन्नतीको लागि पहल नगरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सो सडकको चासो देखाउने व्यक्ति भीमबहादुर तामाङको मृत्यु पश्चात त्यसको जिम्मेवारी सचिब कार्कीको काधमा आएको झुलेका स्थानीय एवंम दोलखा उद्योग बाणिज्य सघंका अध्यक्ष सुन्दर कार्कीले बताए । उनले मन्त्रालयका सचिबले चाहेमा कालोपत्रे समेत हुन सक्ने भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । झुले वडामै घर भएका सचिब पाउँदा समेत सो सडक खण्डको स्तरउन्नती नभएकोमा कहिले पनि नहुँने अध्यक्ष कार्कीको भनाइ छ ।
सो सडक हुदै भीरकोट,गैरीमुदी,झुले,जफे,हावा,च्यामा,सहरे,ठुलोपातल लगाएतका वडाका स्थानीयले कष्ठपूर्ण यात्रा गर्ने गरेका छन् । दैनिक दुई वटा बस सञ्चालन हुने गरेको छ भने एक दर्जन भन्दा बढी मालबाहक गाडिहरु दौडिने गरेका छन् । केहि महिना अघि मात्र कच्चि सडकको कारण ट्रिपर दुर्घटना परी एक व्यक्तिको ज्यान गएको थियो ।