घरायसी सामान ल्याउने बहानामा कपडा तस्करी
विराटनगर: भारतको जोगवनीबाट सोमबार साँझ तीनवटा प्लाष्टिकको झोला झुन्ड्याएर एक महिला विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटतर्फ अघि बढिन्।
ढाटमा उनलाई रोकेर प्रहरीले चेकजाँच गर्दा झोलाको माथिल्लो भागमा घरायसी प्रयोजनका लागि ल्याइने सामान चिनी, भुजिया, खानेतेल, कपडा धुने सरफ, सावुन भेटियो।
त्यहीमाथि उनले १० किलोग्राम चिनीको भन्सारमा राजश्व समेत तिरेको प्रज्ञापनपत्र प्रहरीलाई देखाइन्। घरायसी प्रयोजनका लागि राजश्व समेत तिरेर सामान ल्याएको प्रज्ञापत्र देखाएपछि ड्युटीमा बसेका प्रहरीबाट उनले सहजै उन्मुक्ती पाइन्।
त्यसको लगभग तीन सय मिटर उत्तरमा रहेको इलाका प्रहरी कार्यालय रानी अगाडि आइपुगेपछि पुन उनको झोला चेकजाँच भयो। चेकजाँच गर्दा झोलाको तल्लो भागमा ठूलो परिणामको कपडा (कुर्ता सलवार) राखिएको भेटियो। तीनवटा झोला भित्र ७८ पिस कुर्ता सलवार फेला पर्यो। एउटा पिस कुर्ता सलवारको पनि भन्सार काटेको पाइएन। प्रहरीले घरायसी प्रयोजनका लागि सामान ल्याउने बहानामा भारतबाट कपडा तस्करी हुने गरेको पत्ता लगाएको छ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार तत्कालै सुनसरी खनार १३ घर बताउने ३५ वर्षीया पूजा सिंहलाई पक्राउ गरियो र उनका साथमा रहेका सबै सामान बरामद गरियो।
‘भन्सार कार्यालयको ढाटमा चेकजाँच गर्दा भन्सार काटेर घरायसी प्रयोजनका लागि सामान ल्याएको पाइएपछि प्रहरीले छाडिदियो,' उनले भने, ‘पुनः शंका लागेर चेकजाँच गर्दा झोलाको माथिल्लो भागमा घरायसी सामान राखेर तल्लो भागमा भने तस्करीको कपडा राखेर ल्याएको पाइयो।'
निरौलाका अनुसार झोलाको माथिल्लो भागमा घरायसी सामान ल्याएजस्तो देखाएर कपडा तस्करी गर्ने गरिएको नयाँ रहस्य बाहिर आएको छ। तस्करीका सामानलाई ढाक्नका लागि मात्रै झोलाको माथिल्लो भागमा घरायसी प्रयोजनका सामान राख्ने गरिएको पाइयो।
प्रहरीले भारतको जोगवनीबाट सामान्य रुपमा घरायसी प्रयोजनका लागि सामान ल्याउनेहरुलाई कडाई गर्दैन। चेकजाँचका क्रममा थोरै मूल्यका घरायसी प्रयोजनका लागि सामान ल्याएको पाइयो भने प्रहरीले व्यवहारिक समस्या हेरेर छाडिदिने गरेको छ।
घरयासी सामान ल्याउने भन्दै कपडा तस्करी हुने गरेको नयाँ तथ्य बाहिर आएपछि सीमावर्ती क्षेत्रमा भन्सार कार्यालयसंग समन्वय गरेर प्रहरी सक्रियता बढाइएको उनले बताए।
‘सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि प्रहरीले कडाई गरेपछि तस्करीमा संलग्नले नयाँ उपाय लगाउन थालेको पाइयो,' उनले भने, ‘घरायसी सामान राखिएको झोला मुनी तस्करीको सामान ल्याइँदो रहेछ भन्ने कुरामा प्रहरी पनि सचेत भयो।'
पक्राउ परेकी महिलाले भने आफू कपडा तस्करीमा पहिल्यैदेखि संलग्न भएको बताइन्।