युद्धविराम लागू गर्न राष्ट्रसंघीय महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गरेका छन्। यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ।
उनले पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि भएको प्रयासको सराहना गरेका हुन्। यस क्रममा भएका प्रयासहरुले आगामी दिनमा पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा उहाँको जोड थियो।
महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ। उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस।'
युक्रेनमा गत शुक्रबार नयाँ युद्धविरामको घोषणा गरिएको हो। तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार भने आएको थियो।
सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन्। यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन् ।
युद्धविरामपछि पनि सैनिक क्रियाकलापहरु नरोकिने अवस्थाको अन्त्यगरी शान्तिका लागि प्रयास थाल्न महासचिव गुटेरेशले सबैसँग आग्रह गरेका हुन्।
सोमबारमात्र फ्रान्सका राष्ट्रपति र जर्मनी चान्स्लरले रसियाली र युक्रेनी राष्ट्रपतिलाई शान्तिपूर्ण रुपमा सो युद्धविरामको पालना गरी वर्तमान हत्या हिंसाको क्रमलाई तत्कालै रोक्न सो विज्ञप्तिमार्फत माग गरेका हुन्।
पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुरु भएको छ। युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन्।
तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिइआएको छ। जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो। रासस/सिन्ह्वा