गाँजा तस्करीमा संलग्न आमाछोरासहित पाँच पक्राउ
बर्दिबास : लागुऔषधको कारोबार गर्ने तीन युवालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले मंगलबार साँझ पक्राउ गरेको छ। गौशाला नगरपालिका-७ का १८ बर्षीय नाजिर सेख, मोहमद असरफ सेख र इरफान सेखलाई लागुऔषधसहित पक्राउ गरिएको डीएसपी प्रविण पोखरेलले बताए। उनीहरुलाई बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत बर्दिबास स्थित मसनघट्टाबाट प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागुऔषध स्पास्मोप्रोक्सीभन (१५ पता) १ सय २० ट्याब्लेट, नाइट्रोभेट (१६ पता) २४ इ ट्याब्लेट, डाइलेक्स १५ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। ज ४ प ५१६५ नम्बरको होन्डासाइन मोटरसाइकलमा भारतीय बजारतिरबाट आइरहेका बेला प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रकाउ गरेको हो।
एउटै मोटरसाइकलमा तीन जना सवार भएर बर्दिबास तिर आइरेका तीन युवा मध्ये नाजिरले प्लाष्टिकको झोला लागुऔषध हातमा झुण्ड्याएर ल्याउँदै गर्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन्। भारतीय बजार बेलाबाट लागुऔषध खरिद गरेर बर्दिबासमा बिक्री गर्दै आर्थिक फाइदा लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरु आफू पनि लागुऔषधको अमली रहेको बताइएको छ।
परिवार नै गाँजा कारोवारी
सोमबार दिउँसो सबै परिवार नै गाँजा कारोवारी गर्ने आमा छोरालाई पनि प्रहरीले बर्दिबासबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-४ माइस्थानकी ४५ बर्षीय गंगाजली देवी महतो र उनका २३ बर्षीय छोरा शंकर महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी प्रविण पोखरेलले बताए।
‘पाँच बर्षअघि गंगाजलीका श्रीमान् बुधन महतो पनि गाँजासहित पक्राउ परेका थिए। अहिले छोरा र उनकी श्रीमती गाँजासहित पक्राउ गरेका छन्, ’डिएसपी पोखरेलले भने।
प्रहरी आफै गाँजा खरिद गर्ने ग्राहक बनेर आमा छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। तयारी गाँजा २ किलो ७ सय ग्राम र गाँजा तयारी गर्न बाँकी रहेको गाँजाको १ किलो ५ सय ग्राम अर्ध तयारी अवस्थाको गाँजासहित उनीहरुलाई प्रहरीले घरमा घेरा हालेर पक्राउ गरेको हो।
प्लाष्टिकको झोलामा गाँजा लुकाई राखेको अवस्थामा प्रहरीले छापामारी गरेर गाँजा बरामद गरेको हो। पक्राउ गरेका आमा र छोरालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर अनुसन्धान भइरहेको छ।