'मर्न सकिदो रहेनछ, बाँच्नै गाह्रो भो'
गौर: नाम हंसराज तर उनको अवस्था देख्नेहरुलाइ उनको नाम किन हंसराज राखिदिएको होला भनेर सोच्न बाध्य बनाउँछ। मान्छे भएर बाँच्न पाउने सामान्य अधिकार पनि उनले पाएका छैनन्। उपचार त के उनले दैनिक पेटभर खान समेत पाउने गरेका छैनन्।
रौतहटको साबिस पिप्रापोखरीया ८ स्थित मुसहर टोलका हंशराज माझी मुसहर जीवनमा सायदै हाँस्न पाएका होलान्। ८४ बर्षीय हंसराज १० बर्ष देखि पक्षघातका कारण हिडडुल गर्न सक्दैनन्।उपचार खर्च अभावमा उनी बर्षौ देखि थलिएका छन्।कमाउने कोही नहुदा ७० बर्षिया श्रीमती सितादेवीले गाउघरमा मागेर खुवाउने गरेकी छिन।
बोली प्रष्ट भएपनि बर्षौदेखि हातखुट्टा चलेका छैनन। छोराछोरी कोही नभएकाले उनलाई पालनपोषण गर्ने कोही छैन।सो टोलमा ५७ घर मुसहरहरु बसोवास गर्दै आएका छन्। बृद्ध दम्पतीहरु लाइ कहिले काही छरछिमेकले पाकेको खानेकुरा दिने गरेका छन्।
सन्तान नभएका बृद्ध दम्पतीको जीवन कष्टकर रहेको राष्टिय मुसहर उत्थान समाजका उपाध्यक्ष नथुनी माझी मुसहरले बताएका छन्।गुजराखोलाको किनारमा सानो झुपडीमा बर्षौदेखि कष्ट सग बस्दै आएका हंसराजलाइ गाउघुम्ने रहर छ तर खुट्टा चल्दैनन्।बस्तीमा नया मानिस देख्ने बितिकै उनी ह्वीलचियर ल्याइदिन आग्रह गर्दछन्।
हंसराजले भने 'ह्वीलचेयर भए दिसापिसाव गर्न जान सजिलो हिने थियो, त्यसमै बसेर संसार डुल्ने थिए।' छाना चुहिएर कतिरात सुतिन, कतिदिन त पानीले भिजायो मर्न सकिदो रहेनछ बाच्न अफ्ठेरो भयो आंखाभरी आसु पार्दै हंसराजले भने।
झुपडी सफा नहुदा उनी फोहरमा नै दिनभर लटटिएर बस्दै आएका छन्। पुस्तौंदेखि सम्पतिको नाममा केहि नभएका हंसराज आफ्ना पुस्ताहरु बस्दै आएको ऐलानी जमिनमा बस्दै आएको थिए।
उनीहरु बसेको स्थानमा एक उधोग स्थापना हुने भएपछि उनी सँगै ५७ घर मुसहर परिवारलाई गुजरा खोला किनारमा ६ धुरका दरले उधोगले जमिन दिएको छ।
सम्पतिको नाममा सानो फुसको झुपडी भएका मुसहर दम्पतिलाइ सानो घर बनाइ दिन छिमेकीहरुले बस्तिमा पुग्नेहरुसँग आग्रह गर्ने गरेका छन।बसितका सवै मुसहरहरु अत्यन्त गरीब रहेकाले ती बृद्ध दम्पितिलाई सहयोग गर्न नसकेको रामदेव माझीले बताए।
दुइसाता पहीले गुजरा खोलामा आएको बाढीले झुपडी समेत जीर्ण बनाएको छ। झुपडीमा ओड्ने ओछ्याउने कपडा समेत छैन। बोरा ओछ्याएर उनीहरुले दिनरात काटी रहेका छन्।