गृहमन्त्रीले प्रहरीमा विखण्डन ल्याए : कोइराला
बनेपा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीले प्रहरीमा विखण्डन ल्याउन खोजेको आरोप लगाएका छन् । नेता कोइरालाले गृहमन्त्रीले आफ्नो सुरक्षा सल्लाहकारको सचिवालय मन्त्रालयको सट्टा प्रहरी प्रधान कार्यालयमा स्थापना गरेर प्रहरी संगठनभित्र विखण्डन ल्याउन खोजेको बताए ।
उनले गृहमन्त्रीले प्रहरीभित्र दोहोरो शासन संचालन गर्न लागेको बताए । कोइरालाले गृहमन्त्रीले आफ्नो सुरक्षा सल्लाहकार राख्ने बहानामा प्रहरी प्रशासनमा अराजकता फैलाउन लागेको समेत बताए ।
महिला संघ बनेपा नगर समितिले मंगलादेवी सिंहको २१औं स्मृति दिवसमा काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले शीर्ष नेताहबीच गुटबन्दी र भागवण्डाको राजनीति हाबी भएकाले कांग्रेस कमजोर भएको पनि स्पस्ट पारे । कोइरालाले राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर भएको फाइदा एमाले र माओवादीले उठाउन थालेकोमा सचेत गराए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापती मधू आचार्य, पूर्वसभापती शिब हूमागाईँ, काभ्रे कांग्रेसका नेता इन्द्रमणी अधिकारी, कुमार लामिछाने, अच्यूत पौडेल, दिनेश लामा, रमेश हुमागाईँ, नेत्रीहरू रूक्मणीराज भण्डारी, लक्ष्मी खतिवडा र विनिता अधिकारी, नेविसंघ सहमहानन्त्री माधव ढकाल, नेविसंघ केन्द्रीय सदस्य भोला नेपाल, कल्पना खड्का, सुनिता पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।