'सेटिङ' मिलाएर दिइन्छ मेडिकल कलेजलार्इ सम्बन्धन

'सेटिङ' मिलाएर दिइन्छ मेडिकल कलेजलार्इ सम्बन्धन

काठमाडौं : मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्‍यो ।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले साउन १२ गते कलेजलाई सम्बन्धन दिनुको एक मुख्य आधार उक्त प्रतिवेदनलाई मानेको छ । तर, कलेजको प्रतिवेदन नै फर्जी भेटियो ।

समितिले प्रतिवेदनमा २४ किलोमिटर टाढाको जग्गालाई १० किलोमिटरभित्रै भनेको छ । अनि सञ्चालन नै नभएको अस्पताल तीन सय शड्ढयामा चलेको र नभएको विभाग छ भन्दै सम्बन्धनका लागि योग्यता पुर्‍याएको छ । यस्ता यावत् नक्कली योग्यता खडा गरी सम्बन्धनको बाटो खुलाउने एउटा विशेष तरिका छ । मेडिकल शिक्षा क्षेत्रमा त्यसलाई ‘डेट सेलिङ’ भनिन्छ ।

‘डेट सेलिङ’ को अर्थ हो, सम्बन्धित कलेजलाई अनुगमनको सम्पूर्ण जानकारी पहिल्यै जानकारी गराउनु । जसमा अनुगमनको महिना, बार, समयसँगै, त्यसमा संलग्न हुने व्यक्ति र सोधिने प्रश्नबारे विस्तृत जानकारी काउन्सिलका पदाधिकारीले कलेजलाई दिन्छन् । तदनुरुप कलेज व्यवस्थापनले भौतिक पूर्वाधार, उपकरण, अत्यावश्यक जनशक्तिको जोहो, आवश्यक संख्यामा बिरामी संकलन र बाहिरबाट चिकित्सक (खडेबाबा) झिकाउने काम गर्छ ।

काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनका निम्ति गठित समितिमा तीनजना काउन्सिलका पदाधिकारी थिए । बाहिरका चिकित्सक पनि समावेश थिए । समितिका एक सदस्यले अन्नपूर्णसँग भने, ‘हामी अनुगमन गर्न जाँदा कलेजमा सबै ठिकठाक थियो । सोहीअनुसार हामीले प्रतिवेदन बनाएका थियौं । त्यसको पछाडि चलखेल रहेछ । त्यो थाहा भएको भए, म अनुगमनमै जाने थिइनँ । दोष नभए पनि अहिले सबैतिरबाट आरोप खेप्नुपरेको छ ।’

मेडिकल कलेजको सम्बन्धनसँगै सिट संख्या र शुल्क निर्धाणका विषयमा हुने अनुगमन पनि ‘डेट सेलिङ’ कै कारण विवादमा पर्ने गरेका छन् । केही दिनअघि चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सिट निर्धाणसम्बन्धी अनुगमनमा संलग्न २० जना काउन्सिलका पूर्वपदाधिकारीलाई छानबिनमा बोलाउने निर्णय गर्‍यो ।

सम्बन्धन, शुल्क र सिट संख्या निर्धारण खेलमा मेडिकल काउन्सिल र कलेजबीच लाभकारी साँठगाँठ

गत वर्ष नेपाल मेडिकल कलेजमा अनुगमन टोलीलाई देखाउन वृद्धा श्रमबाट नक्कली बिरामी बनाएर लगिएको पाइयो । खासगरी मेडिकल शिक्षालाई पूर्ण व्यापारका रूपमा अघि बढाएका कलेज र कमाउ धन्दाको आरोप लागेका काउन्सिलका पदाधिकारीबीचको साँठगाँठबारे सरकारीस्तरबाट यकिन छानबिन हुन बाँकी नै छ ।

 

राष्ट्रिय चिकित्सा शिक्षा नीति निर्माणका लागि सरकारले गठन गरेको माथेमा कार्यदलका सदस्य डा.मदन उपाध्याय काउन्सिलका पदाधिकारीले दिएको पूर्वजानकारीका आधारमा ‘प्रदर्शन’ गरिएका उपकरण, बिरामी र चिकित्सकलाई देखाएर अनुगमन प्रतिवेदन बनाउने गरिएको बताउँछन् ।

‘पहिले-पहिले अनुगमन टोलीलाई मेडिकल कलेजले हवाइजहाजको टिकट पठाउने, महँगो होटलमा बसाउने र खानाको पनि राम्रो व्यवस्था गरिदिन्थे । अनुगमनका बेला पैसाका खाम दिइन्थ्यो । तर, अहिले खाममा नभई सुटकेसमा पैसा आउने गरेको बुझिन्छ’, डा.उपाध्यायले भने, ‘अनुगमनका क्रममा सबै कुरा ठिकठाक देखेपछि त्यहीअनुसार प्रतिवेदन तयार त हुने नै भयो । पछि निर्दोष फस्छन् र दोषी उम्किन्छन् ।’

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की काउन्सिलका पदाधिकारी संलग्न समितिले गरेका अधिकांश कलेजका अनुगमन शंकास्पद रहेकाले छानबिन अघि बढाएको बताउँछन् । ‘यस्तो साँठगाँठमा काउन्सिलका पदाधिकारी, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, विश्वविद्यालयका पदाधिकारीसमेत संलग्न हुने गरेका छन् । माथिबाटै ‘सेटिङ’ भएपछि तलकालाई थाहा हुँदैन’, कार्कीले भने, ‘यो खेल रोक्न माथि नै सुधार्न आवश्यक छ।’

साँठगाँठमा काउन्सिलका पदाधिकारी, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, विश्वविद्यालयका पदाधिकारीसमेत संलग्न हुने गरेका छन् । माथिबाटै ‘सेटिङ’ भएपछि तलकालाई थाहा हुँदैन । गौरीबहादुर कार्की, अध्यक्ष, जाँचबुझ आयोग

आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति नपुगेको किस्ट मेडिकल कलेजलाई काउन्सिलले ५० सिट बढाउनु अर्को विवादस्पद उदाहरण हो ।कानुनले मेडिकल कलेजको भौतिक पूर्वाधार, अस्पतालको अवस्था र शड्ढया, बिरामीको चाप, फ्याकल्टी र उपकरणबारे अनुगमन गरी सिट संख्या निर्धारण गर्ने अधिकार काउन्सिललाई दिएको छ ।

डा.उपाध्यायका अनुसार त्यसमा काउन्सिलले आकस्मिक अनुगमन गरी निष्पक्ष ढंगले प्रतिवेदन तयार गरी सम्बन्धित पक्षलाई बुझाउनुपर्छ । तर, आर्थिक लेनदेनपछि ‘डेट सेलिङ’ मा बन्ने अनुगमनको प्रतिवेदनले सिट संख्या बढाउन, सम्बन्धन दिन र शुल्क निर्धारण गर्न सिफारिस गर्छ ।

काउन्सिलका पूर्वसदस्य उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ अनुगमनको अधिकार काउन्सिललाई भए पनि व्यापक दुरुपयोग भएको बताउँछन् । ‘ठूलो आर्थिक चलखेलमा मेडिकल कलेजका सञ्चालकले अनुगमनको समय किन्ने, काउन्सिलका अध्यक्ष र रजिस्ट्रारले बिक्री गर्ने खेल छ’, बानियाँले भने, ‘जसको मेडिकल कलेजका मालिकसँग उठबस छ । उनीहरू नै अनुगमनमा जान्छन् । आफू जान नपाए अनुकूलका व्यक्ति छान्ने गर्छन् ।’ काउन्सिलमा यस्तै विकृति देखेपछि उनले गत वर्ष काउन्सिलका सदस्यबाट २८ दिनमै राजीनामा दिएका थिए ।

कसरी हुन्छ ‘डेट सेलिङ’

मेडिकल कलेजले आफैं खर्च गरेर अनुगमनमा बोलाउने गरेको जानकारी पाएपछि सेटिङभन्दा बाहिर रहेका समिति सदस्यले सूचना बाहिर ल्याउने गरेको पाइन्छ । यसबाट अप्ठ्यारो पर्ने हुनाले हिजोआज काउन्सिलका मुख्य व्यक्ति, अनुगमनका सदस्य र कलेजका सञ्चालकबीचको साँठगाँठ झन् गोप्य बन्न थालेको जानकारहरू बताउँछन् ।

यस्तो सेटिङमा राजनीतिक ‘लाइन’ मिले वा कुनै किसिमले निकट भए झन् सजिलो हुने भयो । अनुगमन समितिमा कोही इमानदार चिकित्सक परिहाले भने उनलाई त्यस्तो सेटिङको कुनै सुइँको दिइँदैन । मेडिकल कलेजलाई सहज हुने गरी प्रतिवेदन तयार पार्न र त्यसमा हस्ताक्षर गर्न त्यस्ता व्यक्तिमाथि दबाबसमेत दिइन्छ । बानियाँका अनुसार पछिल्लो समय मेडिकल कलेज अनुगमन विवादमा तानिएपछि काउन्सिलका उच्चपदस्थ सकेसम्म जान चाहँदैनन् । बाहिरकै व्यक्ति राखेर समिति बनाइन्छ र त्यसबाट झनै सहज किसिमले सेटिङ हुन्छ ।

‘कतिपय अनुगमनमा राम्रा चिकित्सकलाई पनि संलग्न गराइन्छ । तर, त्यो आफू जोगिनलाई गरिएको नाटक मञ्चन मात्र हो’, बानियाँले भने, ‘गल्ती नगर्नेले मानसिक पीडिा खेप्नुपरेको छ । गल्ती गर्नेहरू झन् प्रोत्साहित छन् ।’

डा.उपाध्याय फर्जी प्रतिवेदन तयार गर्ने कार्य काउन्सिलको नेतृत्वमा भर पर्ने बताउँछन् । ‘कतिपय राम्रो व्यक्तिले पनि काउन्सिलको नेतृत्व गरेका छन् । उनीहरूले इमानदारी देखाउँदा अनुगमन कार्य कडा पनि भए । तर, त्यो नेतृत्व फेरिनासाथ पुनः चलखेल सुरु हुन्थ्यो । त्यो अवस्था अहिले पनि छ’, उनले भने, ‘यस्तै अवस्था कायम भयो भने नेपालको मेडिकल शिक्षा मात्र होइन, स्वास्थ्य क्षेत्रले प्राप्त गरेको उपलब्धि पनि धराशयी हुने निश्चित छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.