तरकारीको मूल्य होलसेलभन्दा खुद्रामा दोब्बर

तरकारीको मूल्य होलसेलभन्दा खुद्रामा दोब्बर

काठमाडौं : खुद्रा व्यापारीले तरकारीको मूल्यमा कालोबजारी गरेका छन् । उनीहरूले आफूखुसी ५० प्रतिशतसम्म मूल्य बढाएका छन् । कानुनअनुसार खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी जोडेर बिक्री गरिए त्यसलाई कालोबजारी मानिन्छ । तर खुद्रा व्यापारीले कतिपय तरकारीमा शतप्रतिशतसम्म मूल्य वृद्धि गरी उपभोक्ता ठगिरहेका छन् । तर पनि सरकारले कारबाहीको कुरा परै जाओस्, अनुगमनसमेत गरेको छैन ।

साउन ३१ गते थोकमा कायम भएकोभन्दा अहिले मूल्य निकै घटिसकेको तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । तर खुद्रा मूल्य भने घटेको छैन । उनका अनुसार कालीमाटी थोक बजारमा अहिले दैनिक ६ सय मेट्रिक टन तरकारी आपूर्ति भइरहेको छ । आपूर्ति बढेसँगै थोकमा मूल्य घट्ने क्रम सुरु भएको छ ।

 

कालिमाटी थोक बजारमा मंगलबार गोलभेंडा किलोको ४० रुपैयाँमा बिक्री भयो । तर त्यही गोलभेंडा खुद्रा व्यापारीले किलोको ८० रुपैयाँमा बिक्री गरिरहेका छन् । उपत्यकावरिपरिका टनेलमा उत्पादित गोलभेंडा अहिले बजारमा आउँदा थोक मूल्य घटेको हो । थोकमा ३१ रुपैयाँ रहेको रातो आलु खुद्रामा ५५ र २९ रहेको सेतो आलु खुद्रामा ४५ रुपैयाँमा बिक्री भइरहेको छ । यसैगरी, थोकमा ४६ पर्ने प्याज खुद्रामा ६५, २६ को बन्दा खुद्रामा ५०, ७८ को काउली खुद्रामा ९५, ३८ को भन्टा खुद्रामा ४५ र ८२ को बोडी खुद्रामा एक सय १० रुपैयाँमा बिक्री भएको छ । यस्तै ५८ को परबर एक सय १५, ७२ जाने भिन्डी एक सय १० र ५२ पर्ने घिरांैलालाई खुद्रा व्यवसायीले सय रुपैयाँमा बिक्री गरेका छन् ।

‘आजसम्म सरकारी नियमनकारी निकायले खुद्रा तरकारी पसलमा अनुगमन गर्न सकेन', उपभोक्तावादी प्रेमलाल महर्जन भन्छन्, ‘जसका कारण उनीहरू आफूखुसी मूल्य थपेर उपभोक्ताको ढाडै सेक्ने गरी चर्को मूल्य असुल गरिरहेका छन् । राज्यले नियमन नगरेका कारण उनीहरूको मनोबल उच्च भएको हो ।' बजारको बेथिति नियन्त्रणका नाममा विभिन्न संस्था स्थापना भएका छन् । आपूर्ति विभाग, संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, केन्द्रीय अनुगमन समिति, जिल्ला अनुगमन समिति, उपभोग्य वस्तुको प्रकृतिअनुसार क्षेत्रगत अनुगमन समितिलगायत सक्रिय छन् । तर खुद्रा तरकारी पसलमा सरकारले कुनै पनि अनुगमन नभएको महर्जनले बताए ।

बाढीपहिरोपश्चात् सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार र निजीक्षेत्रको बल्खु तरकारी बजार, बालाजु तरकारी बजार, कलंकी तरकारी बजारलगायत बजारमा केहीबाहेक अन्य तरकारीको मूल्य सामान्य अवस्थामा फर्किसकेको छ । थोक बजारमै तरकारीको मूल्य सामान्य भइसक्दा पनि खुद्रा व्यवसायीले उपभोक्ताबाट तरकारीको उच्च मूल्य असुल गर्दै आएका छन् ।

कालिमाटीसहित अन्य थोक तरकारी बजारमा काउली, बोडी, भिन्डी, परबर र घिरांैलाबाहेक सबै प्रकारका तरकारीको मूल्य घटिसकेको छ । काभ्रे, नुवाकोट, धादिङ, भक्तपुर, ललितपुर र मकवानपुरमा उत्पादन हुने काउली, बोडी, करेला र घिरौंलालगायत तरकारी यसपटकको वर्षाका कारण ठूलो परिमाणमा बिग्रिएको थियो । अन्य समयमा यस्ता जिल्लाको ८५ प्रतिशत तरकारी राजधानी भित्रिन्छ । बाँकी तरकारी तराईका चितवन, सर्लाही, नवलपरासीबाट ७ देखि १५ प्रतिशतको हाराहारीमा उपत्यकामा आपूर्ति हुन्थ्यो ।

खुद्रा व्यापारीले कतिपय तरकारीमा शतप्रतिशतसम्म मूल्यवृद्धि गरी उपभोक्ता ठगिरहेका छन् । तर पनि सरकारले कारबाही त परको कुरा, अनुगमनसमेत गरेको छैन ।

घिमिरेका अनुसार वर्षा, बाढी र डुबानका कारण काठमाडौंवरिपरिका जिल्लामा पनि यसपटक तरकारी उत्पादन घटेको छ । तराईमा भने बाढी र डुबानले सम्पूर्ण तरकारी नष्ट गरेको थियो । उपत्यकावरिपरि उत्पादित तरकारीमध्ये झन्डै ५५ प्रतिशत तरकारीमात्रै राजधानीको थोक बजारमा आइपुगेको छ । बाँकी ३० प्रतिशत तरकारी उत्पादन क्षेत्रबाट सोझै तराईका जिल्लामा जान थालेको छ ।

‘मागअनुसार उत्पादनमा केही कमी आयो, उत्पादित तरकारीमध्ये पनि केही प्रतिशत यसपटक तराईका जिल्लामा पनि पठाउनुपर्‍यो, जसका कारण केही तरकारीको थोक मूल्यमा वृद्धि भए पनि अन्य तरकारीको थोक मूल्य पहिलेको तुलनामा निकै घटिसकेको छ', उनले भने, ‘सामान्य अवस्थामा पनि तरकारीलाई पनि खुद्रा व्यवसायीले ५० प्रतिशतसम्म मूल्य थपेर बिक्री गर्दैआएका छन् । यो विषयमा आपूर्ति मन्त्रालयमा पनि ध्यानाकर्षण गराएका थियौं तर हालसम्म कुनै पहल भएन ।'

राज्यको नियमनकारी संयन्त्र कमजोर हुँदा प्रत्यक्ष फाइदा खुद्रा व्यवसायीले उठाएको उपभोक्तावादी ज्योति बानियाँको भनाइ छ । ‘सातामा कम्तीमा दुईपटक खुद्रा तरकारी पसलमा अनुगमन गरिदिने हो भने समस्या आफै समाधान हुन्छ', उनले भने । खुद्रा व्यवसायीले चर्को मूल्य थपेर तरकारी बिक्री गर्दा उपभोक्ता र किसान दुवैलाई ठूलो मार परेको घिमिरेले जानकारी दिए । खुद्रा व्यवसायीकै पहुँचमा उपत्यकामा करिब ७० प्रतिशत उपभोक्ता छन् । यसको प्रत्यक्ष फाइदा यस्ता व्यवसायीले उठाउँदै आएका छन् ।

खुद्रा व्यवसायीले तरकारीमा शतप्रतिशतसम्म मूल्यवृद्धि गरी बिक्री गरिरहेको गुनासो आएको आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले बताए । तरकारीमा खुद्रा व्यवसायीको लुटतन्त्र नै भएको उनको भनाइ छ । ‘बुधबारदेखि नै खुद्रा पसलमा तरकारीको अनुगमन केन्द्रित गर्छौं । खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मूल्य जोडेर लिएको पाइए तत्कालै त्यस्ता व्यापारीमाथि कारबाही गर्छौ', उनले भने ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.