१३ वर्षसम्म् न्याय पाएनन् इमान्दार बन्दा गोली खाएका उपसचिवले
काठमाडौं : १३ वर्ष पर्खंदासमेत सरकारका बहालवाला उपसचिवले नै न्याय पाउन सकेका छैनन् । अहिले सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा प्रमुख उपसचिव जीवन सेढाईंको १३ वर्षअघि हत्या गर्न गोली प्रहार गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रमुख सेढाईंले यातायातमा व्याप्त सिन्डिकेट तोड्न खोज्दा गोली खानुपरे पनि अहिलेसम्म उपसचिव सेढाईंले आफूलाई गोली हान्ने को हो थाहा पाउन सकेका छैनन् । उनी ०५९ चैतदेखि ०६१ जेठसम्म पोखरास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख थिए ।
उनले आफूलाई हत्या गर्न गोली हान्ने अपराधीको खोजी गरी कारबाही माग गर्दै प्रहरी प्रभाग हनुमानढोकामा दिएको जाहेरीमा १३ वर्षदेखि धुलोका तह मात्रै थपिँदै गएको छ । सरकारले हत्या प्रयास गरिएका आफ्नै वरिष्ठ कर्मचारीको उपचारमा समेत बेवास्ता गरेपछि उनले राजधानीमा रहेको जमिनसमेत बेच्न बाध्य भएका छन् । ‘इमानदारीपूर्वक कर्तव्यपालन गर्दा गोली ठोकेर मार्न खोज्ने अपराधीमाथि सुरक्षा निकायले कारबाही गर्न नसक्ने हो भने सरकारी कर्मचारीको मनोबल कसरी उच्च हुन्छ र इमानदारीपूर्वक काम गर्ने जोस, जाँगर र आँट आउँछ ? यस्ता मामिलामा सरकार संवेदनशील बन्नुपर्ने हो तर अहिलेसम्म अपराधी खोज्नतिर माखो पनि मरेन’, उनले गुनासो गरे ।
पोखरामा सेढाईंले सिन्डिकेट तोडेनन् मात्र वैज्ञानिक विधि अपनाएर रुट परमिट वितरण गरेपछि सिन्डिकेट र उनीहरूका मतियार सल्बलाए । उनलाई ज्यान मार्ने धम्कीसमेत आउन थाले । तर, उनी धम्कीको बेवास्ता गर्दै आफ्नो काम गर्दै गए । पोखराको नागरिक समाज र सञ्चारमाध्यमले उनलाई सहयोग र माया गर्यो । ‘मैले पोखराको नागरिक समाज र स्थानीय सञ्चारमाध्यमबाट ठूलो सहयोग पाएकाले पनि यातायातमा व्याप्त विकृति हटाउन सजिलो भयो’, सम्झन्छन् सेढाईं ।
हत्याको प्रयास गरिएका आफ्नै वरिष्ठ कर्मचारीको उपचारमा सरकारले समेत बेवास्ता गरेपछि उपसचिव जीवन सेढाईं राजधानीमा रहेको जमिन बेच्न बाध्य भएका छन् ।
तत्कालीन श्रम तथा यातायातमन्त्री कमल चौलागाईंले पोखराको सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेट तोड्न सेढार्इंलाई यातायात व्यवस्था कार्यालय प्रमुखमा पठाएका थिए । उनले पोखराको सिन्डिकेट भत्काए पनि तर त्यसको साटो उनले जीवनभर अपांगता भोग्नुपर्ने गरी ढाडमा गोलीको पुरस्कार थाप्नुपर्यो ।
पत्रकार हुँ भन्दै गोली प्रहार
सेढाईंका अनुसार ०६१ साल जेठ २७ मा उनी कार्यालयकै कामले काठमाडौं आएका थिए । उनको २८ गते बानेश्वरस्थित यातायात व्यवस्था विभागमा काम थियो । उनलाई २७ गते साँझ एउटा पत्रिकाको रिपोर्टर हुँ भन्दै सरोज डंगोल भन्ने व्यक्तिले फोन गरी भोलिपल्ट बानेश्वरमा अन्तर्वार्ताका लागि समय मागे । डंगोलले पत्रकार भनेपछि सेढाईंलाई आफूले गरेका सुधार सार्वजनिक गर्नुपर्छ भन्ने लाग्यो र सहजै भेट्न तयार भए ।
‘२८ गते मैले विभागमा काम सकेपछि डंगोल पत्रिकाबाट भन्दै मसँग भेट्न आए । मैले बानेश्वर चोकमा बसेर कफी पिउँदै कुराकानी गर्न आग्रह गरें । तर, उनले माथि जाऊँ सर त्यहाँ राम्रो कफीसप छ भन्दै ह्वाइटहाउस कलेज भएतर्फ लगे’, उनले त्यो क्षण सम्झँदै भने, ‘मलाई कसैले फलो गरेजस्तो लागेको थियो तर मैले ध्यान दिइनँ ।’
सेढाईंले गोली खाँदाको क्षण सम्झँदै भने, ‘चोकबाट कुराकानी गर्दै ह्वाइटहाउस नजिक पुगेपछि पछाडिबाट कसैले मलाई अचानक ढाडमा गोली हान्यो, म गोली लागेर ढलेंछु । मसँगै रहेका पत्रकार डंगोल त्यहाँबाट गायब भएछन् । त्यसपछि उनी मेरो सम्पर्कमै आएनन् । उनले आफूलाई जुन पत्रिकाको पत्रकार भनेका थिए, त्यो पत्रिकामा बुझ्दा सरोज डंगोल नाम गरेका कुनै पत्रकार काम नगर्ने पत्ता लाग्यो ।’ गोली लागेर ढलेका उनलाई स्थानीयले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल हुँदै वीर अस्पताल पुर्याएका थिए । वीरमा वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको टोलीले शल्यक्रिया गरी उनको मेरुदण्डमा अड्किएको गोली झिकेर जीवन बचाएको थियो ।
२० दिन कोमामा रहेर बाँचेका सेढाईंको दाहिने खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । उनी याङलेट लगाएर खोच्याएर हिँड्न बाध्य छन् । मेरुदण्डमा लागेका कारण कम्मरमुनिको भाग कमजोर भएको छ भने शरीरमा विभिन्न समस्या बारम्बार देखिन्छन् । ‘१४ वर्ष भयो तर प्रहरीले मलाई गोली हान्ने अपराधी पक्राउ गर्न र कारबाही गर्न सकेको छैन । अब त अपराधी पक्राउ परेर सजाय पाउला र मैले न्याय पाउँला भन्ने आसै मरिसक्यो’, उपसचिव सेढाईंले भने ।
सिन्डिकेटका डन चिढिएका थिए सेढाईंसँग
उनले सिन्डिकेट तोड्दै काठमाडौं-पोखराका लागि पहिलो पटक २० वटा माइक्रोबस सञ्चालनको इजाजत दिए भने मकालु, हिमाल र पानस यातायातलाई सञ्चालन इजाजत दिए । त्यसपछि उनीसँग सिन्डिकेटका डनहरू क्रुद्ध भए । ‘त्यतिखेरै ज्यान मार्ने धम्की आएका थिए, आर्थिक प्रलोभनमा पार्ने प्रयास पनि गरेका थिए । तर, मैले कुनै दबाब र प्रभावमा नपरी काम गर्दै गएँ’, उनी भन्छन् ।