जोखिममै फोप्लीका पहिरोपीडित

जोखिममै फोप्लीका पहिरोपीडित

प्युठान : जन्मे-हुर्केको थलो छाड्न नमानेपछि नौबहिनी गाउँपालिकाको फोप्लीका पहिरोपीडित जोखिममै दैनिकी कटाइरहेका छन् । गत वर्ष साउनमा पहिरोले मानवीय क्षति पुर्‍याएर पीडामा परेको फोप्ली गाउँवासी यसपालि पनि जोखिममै छन् । उनीहरूले जन्मथलो छाडी अन्यत्र जान आनाकानी गरेपछि दाताले जोखिमस्थलमै घर बनाइदिएका छन् ।

भूगर्भविद्को टोलीले अध्ययन प्रतिवेदन तयार पार्न ढिलाइ गरेपछि कच्ची घर बनेका हुन् । पहिरो गएको तीन महिनापछि अध्ययनका लागि आएको भूगर्वविद्को टोलीले एक वर्ष बित्न लाग्दा पनि प्रतिवेदन बुझाएको छैन । यसपालिको वर्षायाममा सुरक्षित बासका लागि कारितास नेपालको आर्थिक सहयोगमा फूलबारी एकीकृत ग्रामीण विकास संस्थाले फोप्लीमा ४० घर निर्माण गरिदिएको हो । उक्त संस्थाले प्रतिघरका लागि एक लाख १३ हजार रुपैयाँ खर्च गरेको छ ।

संस्थाका अध्यक्ष लोकबहादुर बस्नेतले सबै घर निर्माण गर्न ४५ लाख २० हजार रुपैयाँ खर्च भएको जानकारी दिए । ‘पीडितको रोजाइमा घर बनेका छन्', अध्यक्ष बस्नेतले भने, ‘सुरक्षित स्थानमा निर्माण गर्न खोजे पनि पीडितले मान्नुभएन ।'

स्थानीय स्रोतसाधनबाहेकका सामग्री र नगद २५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । खवाङमा पनि १० घर निर्माण गरेको उनले जानकारी गराए । घर निर्माण गर्न साविकको फोप्ली गाविसले सार्वजनिक स्थानमा जग्गा उपलब्ध गराए पनि पीडित नै जान नमानेको उनको दाबी छ । पहिरोले पूरै गाउँ चिराचिरा भएको छ । गाउँ अझै पहिरोको उच्च जोखिममा देखिन्छ । कतिपय स्थानमा पहिरो गए पनि ठूलो क्षति भने भएको छैन । गाउँ पुग्ने सडक बिग्रिएर जोखिमपूर्ण बनेको छ ।

‘पोहोर सालको पहिरोले घर बगायो', फोप्ली म्यालपाटाका कमल कुँवरले भने, ‘एक वर्षपछि घर बनाउन लागेका छौं । पानी पर्दा रातभर निद्रा लाग्दैन ।' घर निर्माणमा ढुंगा र पानी अभाव रहेको उनले गुनासो गरे । १० जनाको परिवार चुहिने खरको घरमा कष्टपूर्ण दैनिकी गुजारिरहेको उनले सुनाए । ‘प्रधानमन्त्री आएर भूकम्पपीडितसरह राहत दिने भनेर जानुभएको थियो', उनले भने, ‘सरकारबाट केही सहयोग पाएनौं ।' पहिरोका कारण फोप्लीका भृकुना, गातिना, चरिवाङलगायत गाउँ जोखिममा परेको उनले बताए ।

जनता आवास कार्यक्रमअन्तर्गत पनि यहाँ घर निर्माणाधीन छन् । प्रतिपरिवार दुई लाख ३७ हजार सात सय रुपैयाँका दरले सहयोग गरेको भवन निर्माण डिभिजन कार्यालय प्रमुख ईश्वरराज जोशीले जानकारी दिए । ‘पीडितका लागि सामूहिक आवास बनाउने योजनामा थियौं', उनले भने, ‘उपयुक्त जग्गा नभएपछि सर्वदलीय निर्णयबाट घर निर्माण थालेका हौं ।'

बस्तीस्तरका योजनाबाट पहिरोपीडितका लागि विशेष कार्यक्रम बनाएर अघि बढ्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष शिवप्रसाद रिजालले बताए । गाउँपालिकाभित्रै पर्ने लुङ लेकमा ३० रोपनी क्षेत्रफल सार्वजनिक जग्गा खाली छ', अध्यक्ष रिजालले भने, ‘पीडितलाई स्थानान्तरण गर्नुपरे यसबारे योजना बनाउँछौं ।' फोप्लीका धेरैजसो क्षेत्र पहिरोको जोखिममा रहेकाले दीर्घकालीन बसोबासका लागि सुरक्षित हुन नसक्ने उनले सुनाए ।


-जोखिमस्थलमै दाताद्वारा नयाँ आवास निर्माण
-पीडितहरूले जन्मथलो छाड्न नमानेको दाबी
-भूगर्भविद्द्वारा प्रतिवेदन तयार पार्न ढिलाइ

अघिल्लो साउन १० र ११ गते अविरल वर्षापछिको पहिरोमा पुरिएर फोप्लीका एकै गाउँका २८ सहित जिल्लाभर ४० जनाको ज्यान गएको थियो । दुई सय २१ घर पूर्णरूपमा क्षति भएका छन् । नौ सय ३२ घरमा आंशिक क्षति पुगेको छ । निर्वाचनका बेला ‘गुलिया वचन' दिने नेताले दुःखमा साथ नदिएको पीडितको गुनासो छ । ‘पहिरोमा पुरिएर बुवाआमाको ज्यान गयो । घरको नामोनिसान नरहने गरी पहिरोले लग्यो', नौबहिनी गाउँपालिका-६, माक्रेका रमेश केसीले भने, ‘बाहानेमा कोठा भाडा लिएर बसेका छौं । घर बनाउने जग्गा नै छैन ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.