१५ वर्षमा स्वर्ण १९ वर्षमा सन्न्यास
मस्को : अधिकांश खेलाडीको खेलमा प्रवेश गर्ने औसत उमेर भनेको १९÷२० वर्षको हुन्छ । रुसकी चर्चित युवा स्केटर युलिया लिपनिसकायाको उमेर पनि भर्खर ठूला अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिनका लागि योग्य देखिन्छ । युलिया भर्खर १९ वर्षकी भइन् । स्केटिङको दुनियाँमा एकछत्र राज गर्ने अभियानमा रहेकी युलियालाई भाग्यले भने साथ दिएन ।
केवल १५ वर्षको उमेरमै ओलम्पिक खेलकुदमा रुसलाई स्वर्ण पदक दिलाएकी युलियाले स्केटिङ खेलबाट सन्न्यासको घोषणा गरेकी छन् । खेलमा प्रवेश गर्ने उमेरमा एक्कासि सन्न्यास लिनुपर्दाको क्षणलाई उनी र उनको परिवारले दुःखद् क्षणको रूपमा लिएको छ । सन् २०१४ मा सोचीमा भएको शीतकालीन ओलम्पिक खेलकुदमा स्टेकिटङमा स्वर्ण जित्दा युलिया भर्खर १५ वर्षकी थिइन्।
उनी युरोपको कम उमेरमा स्वर्ण जित्ने कीर्तिमानी खेलाडीसमेत हुन् । ‘एनोरेक्सिया’ नामको रोगबाट पीडित युलियाले उपचारका लागि खेलबाट सन्न्यास लिएको उनकी आमा ड्यानियलाले रुसी समाचार एजेन्सी तासलाई बताएकी छन् । युलियाले सन् २०१४ मै भएको स्केटिङको विश्व च्याम्पियनसिपमा पनि रजत पदक जितेकी थिइन् ।
रुसी स्केटिङ पदाधिकारीले युलियाको स्वास्थ्य लाभको कामना गर्दै उनले रुसलाई दिलाएको उपलब्धिको उच्च कदर गरेको बताएका छन् । युलियाले स्केटिङ पदाधिकारीलाई आफ्नो रोग र उपचारको विषयमा गत अप्रिलमै जानकारी गराएकी थिइन् । सोची ओलम्पिकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युलियाको प्रदर्शनले रुसको गौरव बढाएको भन्दै उनीप्रति आभार व्यक्त गरेका थिए।