तस्करी रोक्न भन्सारको ढाटमा प्रहरीको दरपीठ

तस्करी रोक्न भन्सारको ढाटमा प्रहरीको दरपीठ

विराटनगर: सीमावर्ती भारतको जोगवनी बजारबाट सामान किनेर एक पुरुष विराटनगर भन्सार कार्यालय परिषरमा आइपुगे। उनले सामान ल्याए बापत भन्सारमा तिर्नु पर्ने राजश्व पनि बुझाए। त्यहाँबाट भन्सारको दुई नम्बर ढाटतर्फ अघि बढेका उनलाई रोकेर सुरक्षाकर्मीले झोला खानतलासी गर्दै सामान चेकजाँच गरे।

 

झोला खानतलासी गर्ने क्रममा ती पुरुषले सुरक्षाकर्मीलाई सामान ल्याउँदा राजश्व बुझाए बापत भन्सारले उपलब्ध गराएको प्रज्ञापन पत्र पनि देखाए। त्यही प्रज्ञापन पत्रको पछाडि पट्टी ड्युटीमा बसेका प्रहरीले मिति र समय लेखेर आफ्नो हस्ताक्षर गर्दै दरपीठ गरिदिए।

त्यत्तिकैमा सामान लिएर आएकी एक युवतीले देखाएको प्रज्ञापन पत्रमा पनि प्रहरीले मिति र समय लेखिदिए। प्रज्ञापन पत्रमा मिति र समय लेखेर ड्युटीका प्रहरीले हस्ताक्षर गरेपछि ती युवती आफ्नो गन्तव्यतर्फ लागिन्।

ती पुरुष र युवती मात्रै हैन जोगवनीबाट सामान किनेर आउने सबैले राजश्व बुझाउने क्रममा भन्सारले उपलब्ध गराएको प्रज्ञापन पत्रको पछाडि पट्टी प्रहरीले मिति र समय उल्लेख गरेर दरपीठ गरिदिने गरेको छ। सीमा प्रहरी चौकीका नायव निरीक्षक दीपक यादव र इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले दरपीठको प्रचलन बसाएका हुन्।यादव र निरौला दरपीठका लागि आफै खटिने गरेका छन्।

भन्सार नाकाबाट एउटै प्रज्ञापन पत्र देखाएर तस्करीमा संलग्नले बारम्बार सामान ओसारपसार गर्न थालेको सुइँको पाएको प्रहरीले नाकामा कडाई गर्दै सामान ल्याउँदा राजश्व बुझाए बापत भन्सारले उपलब्ध गराउने गरेको प्रज्ञापन पत्रमा मिति र समय उल्लेख गरिदिने गरेको छ।

'तस्करीमा संलग्नले विहान काटेको एउटै प्रज्ञापन पत्र देखाएर दिनभर सामान ओसारपसार गर्दा रहेछन्,' प्रनि निरौलाले भने, 'तस्करी नियन्त्रणका लागि प्रज्ञापन पत्रमा समय र मिति उल्लेख गरिदिन थालिएको छ।' एउटै प्रज्ञापन पत्रमा पटक पटक ओसारपसार गर्न नसकुन् भने प्रज्ञापन पत्रमा दरपीठ गरिदिन थालिएको उनले बताए।

तस्करी रोक्नका लागि यस अघि भन्सार कार्यालयले दोहोरो जाँचपासको व्यवस्था समेत गरेको थियो । भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार दोहोरो जाँचपासको व्यवस्था गरिएपछि एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर बारम्बार सामान ओसारपसार गरेर तस्करी गर्न थालेको पाइएको छ।

'भन्सारको ढाटमा प्रहरीले कडाई थालेसंगै दिनभर सामान ओसार्न एउटै प्रज्ञापन पत्रको प्रयोग हुने गरेको पाइयो,' उनले भने, 'प्रज्ञापन पत्रमै प्रहरीले दरपीठ गरिदिन थालेपछि भने तस्करी गर्नेहरु हच्किएका छन्।' बस्नेतले प्रहरीले प्रज्ञापन पत्रको पछाडि पट्टी समय र मिति उल्लेख गरिदिंदा तस्करी गर्न खोज्नेले त्यही प्रज्ञापन पत्रको प्रयोग गरेर अर्को पटक सामान ल्याउन नसक्ने बताए।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बारम्बार सामान ओसारपसारमा प्रज्ञापन पत्र भने एउटै हुने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्दै भन्सार नाकाबाट हुने तस्करी निमिट्यान्न पार्न निर्देशन दिइएको बताए । उनले भने, ‘तस्करीमा संलग्नले प्रत्येक दिन विहान एउटा प्रज्ञापन पत्र काट्दा रहेछन् र त्यसैलाई प्रयोग गरेर दिनभर सामान ओसारपसार गर्दा रहेछन्।'

प्रनानि यादवका अनुसार भारतबाट नेपालतर्फ भित्रने फलफुल, माछा, गाडीका पार्टपूर्जा, कपडा, चिनी, काजु, किसमिस तथा खाद्यान्न तस्करीमा संलग्नले एउटा प्रज्ञापन पत्र देखाएर दिनभर ओसारपसार गर्ने गरिएको पाइएको छ। ठेला, रिक्सा, सिटी सफारी र साइकलको प्रयोग गरेर हुने गरेको तस्करीमा एउटै प्रज्ञापन पत्रको प्रयोग गर्ने गरिएको पाइएको हो।

प्रहरीले भन्सारको ढाटमा चेकजाँचमा कडाई गर्दै एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर पटक पटक ओसारपसार गरिने सामान नियन्त्रणमा लिएर कारवाहीका लागि भान्सार कार्यालयमा समेत बुझाउन थालेको उनले बताए।

विराटनगर भन्सार कार्यालयको एक नम्बर ढाट हुँदै भारतबाट भित्रने सामान जाँचपास गराएर भन्सार महशुल बुझाउँदै प्रज्ञापन पत्र लिनुपर्छ। भारतबाट भित्रने सामान जाँचकीले चेकजाँच र मूल्याँकन गरेपछि त्यही अनुरुपको भन्सार काटेर सामान ल्याउनेलाई प्रज्ञापन पत्र दिन्छन्। तर त्यही प्रज्ञापन पत्रलाई तस्करीमा संलग्नले दिनभर सामान ओसारपसारमा प्रयोग गर्दै राजश्व छल्ने काम गर्ने गरेको पाइएको भन्सार प्रमुख बस्नेतले बताए।

प्रहरी स्रोतका अनुसार प्रज्ञापन पत्रमा सामानको परिणामसहित सबै विवरण खुलाउने गरिए पनि समय र मिति उल्लेख नगरिंदा तस्करीमा संलग्नले दिनभर त्यसैलाई देखाएर सामान ओसारपसार गर्दा रहेछन्। 'प्रज्ञापन पत्रमा सबै विवरण समेटिए पनि समय उल्लेख गरिएको हुँदैन,' प्रनि निरौलाले भने, 'त्यही भएर विहान काटेको प्रज्ञापन पत्र देखाएर तस्करीमा संलग्नले दिनभर प्रज्ञापन पत्रमा उल्लेख गरिएको परिणामकै सामान भारतबाट ल्याएर कटाउने गरेको पाइयो।'

'प्रहरीले अहिले चेकजाँच गर्ने क्रममा प्रज्ञापन पत्रको पछाडि पट्टी कुन समयमा भन्सार काटिएको हो भनेर समय उल्लेख गरिदिन थालेको छ,' उनले भने, 'एउटै प्रज्ञापन देखाएर तस्करीमा संलग्नले पटक पटक ओसारपसार गर्न नसकुन भनेर समयसँगै मिति पनि राख्ने गरिएको छ।'

उनका अनुसार यस अघि एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर दिनमा १० पटक भन्दा बढी सामान ओसार्ने गरिएको समेत भेटियो। निरौलाले एउटै प्रज्ञापनको प्रयोग गरेर दिनभर सामान ओसार्ने कोही भेटिएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.