चितवनमा ३१ जना बेपत्ताको सूचीमा

चितवनमा ३१ जना बेपत्ताको सूचीमा

नारायणगढ: तत्कालिन नेकपा माओवादी नेतृत्वमा भएको दश वर्षे सशस्त्र द्वन्दका क्रममा बेपत्ता भएकामध्ये चितवनमा ३१ जना अझै बेपत्ताको सूचीमा छन्।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले नारायणगढमा बुधबार एक कार्यक्रमको आयोजना गरेर यस्तो जानकारी दिएको हो। 

 

कार्यक्रममा बेपत्ता हुनेहरुका आफन्तले बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न माग गरे। ‘वर्षौं बितिसक्दा पनि हाम्रा आफन्त फर्केर आउँछन् कि भन्ने लागिरहन्छ' बेपत्ता श्रीमान्लाई सम्झँदै माडीकी सीता मरहठ्ठाले भनिन्, ‘राज्यले बेपत्ता भएकाहरुको स्थिति सार्वजनिक गरोस्। हामी कहिलेसम्म अन्यौलमा बस्ने?'

भण्डाराकी जमुना सेढाईले श्रीमान् बेपत्ता भएको १७ वर्ष पुगेको बताउँदै भनिन्, ‘बाटो कुर्दाकुर्दै अब त आँसु पनि आउन छाडिसक्यो। सत्र वर्ष भयो, न शास छ न त लाश नै छ।' राज्यले बेपत्ता परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने उनको माग छ।

दसवर्षे सशस्त्र द्वन्द्वका बेला छोरी मधुमालतीलाई गुमाएका विष्णुप्रसाद लम्सालले सन्तान बेपत्ता हुँदाको पीडा असह्य हुने गरेको अनुभव सुनाए। उनले सुरक्षाकर्मीले पक्राउ गरेर आफ्नी छोरी बेपत्ता बनाएको बताउँदै उनको स्थिति सार्वजनिक गर्न सरकासँग माग गरे।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले नेपाल रेडक्रस र अन्तर्राष्ट्रिय रेडक्रस बेपत्ताको खोजीमा जुटिरहेको र खोजी जारी राखेको जानकारी गराए। भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले न त बिर्सन सकिने, न त सम्झेरै केही गर्न सकिने भन्दै बेपत्ता परिवारको पीडा अकल्पनीय रहेको बताइन्।

जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णप्रसाद सुवेदीले राज्यको रुपान्तरण र राजनैतिक परिवर्तनमा बेपत्ता परिवारको पनि योगदान रहेको चर्चा गरे। अगस्ट ३० तारिखलाई विश्वभर बेपत्ता दिवसका रुपमा मनाइन्छ। देशभर एक हजार तीन सय ३६ जना बेपत्ता छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.