मुटुरोगी पीडितलाई १७ हजार आर्थिक सहयोग
भोजपुर: सेवा नै धर्म हो भन्ने भावनाका साथ दलित उत्थान ग्रामीण समाज भोजपुरले एक मुटुरोगी बिरामीलाई आर्थिक सहयोग गरेको छ। घरको आर्थिक अवस्था अति नै दयनीय भएको एक २२ बर्षीय मुटुरोगी विरामीलाई समाजले मंगलबार आर्थिक सहयोगार्थ रकम हस्तान्तरण गरेको थियो।
समाजको अगुवाई तथा दलित समुदायको क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय, व्यक्तित्वहरुले दक्षिणी रामप्रसाद राई गाउँपालिका वडा नं. ७, बासीखोरा निबासी दिलमान गजमेरका २२ बर्षीय छोरा मिलन गजमेरको स्वास्थ्य उपचार सहयोगार्थ आर्थिक सहयोग स्वरुप १७ हजार सात सय ९० रुपैँया आर्थिक सहयोग गरेको हो।
विरामी मिलनको मुटुमा पानी जमेर दुवै मृगौलामा समस्या भएपछि उपचार गर्न आर्थिक अभाव खड्किएको र छोराको उपचार गराउन ठुलै अस्पताल लग्नुपर्ने उनका बावु दिलमानले सुनाए।
घरमा आउने बाटो केही नभएको, आर्थिक अवस्था अति कमजोर, ज्याला मजदुरी गरेर घर धानीरहेका दिलमानलाई छोरा एक्कासी विरामी भएपछि अहिले छोराको उपचार गर्न समस्या परेको छ।
उनी भन्छन्, 'अर्काको मेलापात गरेर घरव्यवहार धान्ने गर्थे, आउने बाटो केहि छैन। अब कसरी छोराको उपचार गर्ने खै।?'
एउटा मानवताको हिसाबले आफूहरुले ती गरिब परिवारलाई सहयोग गरेको समाजका अध्यक्ष विमल रणपहेँलीले बताए। 'एउटा मानवताको हिसाबले सेवा नै धर्म हो भन्ने भावनाले हामीले केहि सहयोग गरेका हौँ र सबैलाई एउटा दिनदुःखीलाई आफ्नो ठाउँबाट जति सक्दो सकिने सहयोग गर्न पनि आग्रह गर्दछौँ।'
उनले भने। ती गरिब परिवारलाई सहानुभूति दिन र आफूले सकेको सहयोग गर्न पनि सबैलाई आग्रह गरे। दिलमानले छोरा मिलनलाई अहिले जिल्ला अस्पताल भोजपुरमा प्राथमिक उपचार गराईरहेका छन्।