फोहर पानी खाँदा बाढीपीडित बस्तीमा रोगको संक्रमण
तुलसीपुर: बाढीले खानेपानीको मुहान बगाउँदा दाङका बाढी पीडितहरुले खोलाको धमिलो तथा फोहर पानी खाने गरेका छन्। बाढीले खानेपानीका स्रोतहरु बगाउँदा अहिले खोलाको फोहर पानीलाई संकलन गरेर खाइरहेको तुलसीपुर उपमहानगरपालिका १३ फुलवारीका बाढी पीडितहरुले बताएका छन्। फोहर पानी खानाले बाढी पीडितहरुमा विभिन्न रोगका संक्रमणहरु समेत देखिन थालेका छन।
फुलवारीकी सुनिता विकले बाढी पछिको जीवन कष्टकर भइरहेको भन्दै खोलाको फोहर पानी खाने गरेको बताइन्। 'कुवा र धारामा बाढीले क्षति पुर्याएपछि अहिले खोलाको फोहर पानी खाइरहेका छौ।' उनले भनिन, 'नहुनु भन्दा फोहर पानी नै सहि भनेर खाने गरेका छौ। त्यसले हामीलाई स्वास्थ्यमा समस्या ल्याउन थालेको छ।'
उनले फोहर पानी खादा झाडा पखाला, रुखाखोकी लाग्न सुरु भएको बताइन्।यो समस्या बढी बालबालिकामा रहेको छ।फूलवारी बाख्रेका विष्णु भण्डारीले फोहर पानी खादा गाउँमा विरामी पन सुरु भएको बताए।
उनले अहिले सम्म खोलाको पानी खाइरहेको र कुवामा समेत हिलोसहितको पानी आउँदा पानीको समस्या भएको बताए। हामीलाई कुनै निकायबाट पानीको प्रसोधन सम्बन्धी शिक्षा भएको छैन न त पानीको विकल्प नै छ।' उनले भने, 'खोलाको फोहर पानी खानुको विकल्प नै छैन।'
केही उपाय नलागे पछि त्यहि फोहर पानी खाने गरेको उनले बताए। फोहर पानीका कारण शरीर चिलाउने, पखाला लाग्ने र घाँटीमा समस्या देखि सुरु भएको बताए।
बाढीले खानेपानीका मुहानहरु बगाउँदा र प्रदुषित बनाउँदा बाढी पीडितहरु फोहर पानी खाने गरेको उनीहरुले वताएका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि राज्यले बाढी पीडितहरुलाई पुनर्स्थापना र सुरक्षामा ध्यान नदिएको उनीहरुको गुनासो छ।
बाढीपीडितहरुले पानीको शुद्धताका लागि पहल गरिदिन समेत सरोकारवालाहरुलाई अनुरोध गरेका छन।
बासस्वयम सेवक परिचालन
खानेपानी तथा सरसफाईको सचेतना दिने उदेश्यले जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा खानेपानी तथा सरसफाई स्वयम सेवकहरु परिचालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी दाङले जिल्लाका बाढी प्रभावित क्षेत्रमा सरसफाई तथ खानेपानीको शुद्धताको सचेतना दिन विभिन्न स्थानमा स्वयम सेवक परिचालन गरेको जनाएको छ।
खानेपानी शुद्धताका लागि र सरसफाइका लागि विभिन्न सामग्री सहित स्वयम सेवकहरु प्रभावित क्षेत्रमा परिचालन गरिएको वास कार्यक्रम संयोजक विश्राम अधिकारीले जानकारी दिए। स्वयम सेवकहरु मंगलवार देखि नै परिचालन भइसकेको बताए।
बुधवार स्वयम् सेवकहरुले फुलवारी, हेकुली, गंगटे, मलै शान्तिनगर लमही लगायतका क्षेत्रमा सचेतना प्रदान गरेको उनले बताए।