भासिँदैछ भक्तपुरको भैरवनाथ मन्दिर
भक्तपुर : वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिर कुनै पनि बेला भत्किन सक्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो बनाएको मन्दिर करिब ६ इन्च जमिनमा भासिएको मन्दिरका नाइके कृष्णभक्त छुकां बताउँछन्।
उनले बेलैमा मन्दिर पुनर्निर्माण नगरिए कुनै पनि बेला मन्दिर भासिएर भत्कनसक्ने बताए। उनका अनुसार मन्दिरको बाहिरी गार्हो र भित्री दलानबीच औला छिर्ने प्वाल बनेका छन्। ‘मन्दिरको भित्री गार्हो चर्किएर दलिनको रुपमा राखिएका काठहरुले ठाउँ छोडेका छन्’, नाइके छुकांले अन्नपूर्णसँग भने, ‘माथिल्लो तलाको छानाको भार थाम्न राखिएका थामहरुले समेत ठाउँ छाडेका छन्। अब फेरि ठूलो भूकम्प आयो भने माथिल्लो छाना गल्र्याम्म झर्न सक्छ।’
उनले मन्दिर जोखिमपूर्ण अवस्थामा रहेकाले आफूहरु ज्यान हत्केलामा राखेर दैनिक पूजाआजामा सहभागी हुँदै आएको सुनाए। मन्दिर जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षित बनाउँदै पुनर्निर्माण गर्न नगरपालिका र पुरातत्व विभागको ध्यानाकर्षण गरिँदा पनि हालसम्म सुनुवाइ नभएको अर्को भैरव नाइके रामकृष्ण नागा बताउँछन्।
‘भूकम्प आएको तीन वर्ष पुग्न लागिसक्यो तर मन्दिर पुनर्निर्माण गर्न पटकपटक नगरपालिका र पुरातत्व विभागको ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ भएको छैन’, भैरव नाइके नागाले भने। उनले मन्दिरमा पुगेको क्षतिबारे नगरपालिका र विभागका प्रतिनिधिहरुलाई ल्याएर देखाइसकेकोसमेत जानकारी दिए।
माथिल्लो तलाको छानामुनि चारैतिर रहेका अधिकांश तिकिझ्याः (आँखीझ्याल) झरेका छन्। तिकिझ्याः अड्याउन बनाइएका गार्होसमेत भत्किएका छन्। बाँकी तिकिझ्याः समेत कुनै पनि बेला खस्नसक्ने अवस्थामा छन्।
त्यस्तै मन्दिरका भित्री गार्हो चर्किएका छन्। गार्हो चर्किएर ठाउँ ठाउँमा रहेका दलिनका काठहरुले ठाउँ छाडेका छन्। पानीले भिजेर दलिनहरु कुहिन थालेका छन्। ढुसी नै ढुसी रहेका काठहरु मक्किएर जुनसुकै बेला मन्दिर भत्किन सक्ने मन्दिरका नाइके छुंका बताउँछन्।
एक करोड २७ लाखको इस्टिमेट तयार
भैरव नाइकेहरुले पटकपटक मन्दिर पुनर्निर्माण गर्न ध्यानाकर्षण गरेपछि भक्तपुर नगरपालिकाले एक करोड २७ लाख ५० हजार चार सय १६ रुपैयाँको लगत इस्टिमेट तयार गरेको छ। सम्पदा शाखाले तयार गरेको उक्त लगत इस्टिमेट नगर प्रमुख सुनिल प्रजापतिलाई बुझाइएको छ।
‘हामीले मन्दिर पुनर्निर्माणको लागि लगत इस्टिमेट नगर प्रमुखलाई बुझाइसकेका छौं’, शाखाका इञ्जिनियर सूर्यभक्त खर्बुजाले भने, ‘तर बोर्ड बैठकमा पेस भएर बजेट निकासा भएको छैन।’
उनका अनुसार नपाको इस्टिमेटअनुसार मन्दिर पूरै भत्काएर पुनर्निर्माण हुनेछैन। भूकम्पले क्षति पुर्याएको माथिल्लो तलामात्रै पूरा भत्काइने छ। त्यस्तै तीन तलामध्ये झिंगटी छाइएको तलाका दुई तला को छाना पुनः छाइनेछ। माथिल्लो तलाको छाना भने तामाले छाइएको हो। ‘भूकम्पले हल्लाएको झिंगटीका दुई छाना पुनः छाउँछौं’, इञ्जिनियर खर्बुजाले भने, ‘त्यस्तै चर्किएका ठाउँमा जीर्णोद्धार गर्छौं।’
भक्तपुर नपाले २०५२ सालमा मात्रै उक्त मन्दिर जीर्णोद्धार गरेको थियो। त्यसको आधारमा पनि मन्दिर पूरै भत्काउन नपर्ने भक्तपुर नपाका प्राविधिकहरुको भनाइ छ। तर मन्दिरका नाइकेहरुले भने मन्दिरको जगैदेखि पुनर्निर्माण गर्नपर्ने बताउँछन्।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यही मन्दिरबाट सञ्चालन हुन्छ। यसलाई भारतको काशी विश्वनाथ मन्दिरले पनि चिनिन्छ। भैरवनाथको किम्वदन्तीहरुका अनुसार भक्तपुरको बिस्केट जात्रा हेर्न आएका काशीका विश्वनाथलाई यहाँका तान्त्रिकहरुले पत्तो पाएर उनलाई समात्न खोजेका थिए। यो कुराको सुइको पाएर काशी विश्वनाथ जमिनमा गडेर अलप हुने खोजे त्यहीं बेला तान्त्रिकहरुले बिस्केट जात्रा हेर्न आएका एक किसानले कम्मरमा भिरेको हँसिया झिकेर काशी विश्वनाथको शीर काट्न भ्याएका थिए। त्यही टाउको राख्न भैरवनाथको मन्दिर बनाइएको जनविश्वास छ।
उक्त टाउको हाल पनि जीवित्तै रहेको जनविश्वास रहँदै आएको छ। जुन टाउको रहेको ध्याम्पो भैरव नाइकेबाहेक अरुले हेर्नसमेत हुन्न भन्ने विश्वास छ। भैरव नाइकेबाहेक अन्यले उक्त ध्याम्पो खोलेर हेरेमा तत्कालै अन्धो हुने जनविश्वासले अहिलेसम्म कसैले उक्त ध्याम्पो हेर्ने हिम्मत गर्न सकेका छैनन्।
भैरव नाइकेहरुले प्रत्येक वर्षको दुई दिन उक्त काशी विश्वनाथको लुगा फेरि दिने पर्व पूजा अहिलेसम्म सञ्चालन गर्दै आएका छन्। नेपाल संवत् ६७७ मा विश्व मल्लले एकतले प्यागोडा शैलीमा भैरवनाथको मन्दिर बनाउन लगाएका थिए। त्यसपछि जगतज्योति मल्लले नेपाल संवत् ७४० मा तीन छाने एवं ६ तले वर्तमान स्वरुपमा मन्दिर निर्माण गर्न लगाएको संस्कृतिविद् ओमप्रसाद धौभडेलले जानकारी दिए।
त्यस्तै नेपाल संवत् ८३८ मा भूपतीन्द्र मल्लले जीर्णोद्धार गरेको उक्त मन्दिर वि.सं १९९० सालको भूकम्पमा पाताल भएको थियो। त्यसको तीन वर्षपछि वि.सं. १९९३ मा उक्त मन्दिर पहिले अवस्थामा पुनर्निर्माण गरिएको मन्दिरमा २०७२ सालको भूकम्पले पुनः क्षति पुर्याएको हो।