राजपाको प्रतिवाद गर्नु नपरोस् : ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपालाई राजनीतिक चरित्र र सभ्य समाजअनुकूल व्यवहार गर्न आग्रह गरेका छन् ।बैंककमा पाँच दिन स्वास्थ्य परीक्षण गरेर बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले राजपालाई सच्चिन आग्रह गरेका हुन् । ‘देशका कुनै पनि भागमा जान कसैलाई कसैले रोक्न सक्दैन । रोक्न खोज्नु असंवैधानिक र गैरकानुनी हो । उहाँहरूले निषेधको राजनीति जो गरिरहनुभएको छ, त्यो राम्रो भएन ।’
राजपाजसरी नै एमाले पनि मैदानमा ओर्लियो भने राम्रो नहुने बताउँदै उनले सभ्य समाजलाई सुहाउने व्यवहार गर्न सुझाव दिए । जनकपुरमा एमाले कार्यक्रममा आक्रमण हुँदा सरकार र निर्वाचन आयोग मौन बसेकोप्रति उनले रोष प्रकट गरे । राजपाका यस्ता गतिविधि नियन्त्रण गर्न उनले सरकार र आयोगको ध्यानाकर्षण गराए । ‘कालो झन्डा देखाउन, ढुंगामुढा गर्न पाइन्छ कि पाइँदैन ? आयोगले यसो नगर्नुस् भनेर ध्यानाकर्षणसम्म किन गर्दैन र गर्न नसक्नाको कारण के हो ? ’ उनले प्रश्न गरे ।
प्रतिवादमा उत्रनु नपरोस् भन्ने आफ्नो पार्टीले सोचिरहेको ओलीले बताए । ‘जनकपुरमा उहाँहरूले हिंसात्मक गतिविधि गर्नुभयो । यद्यपि, एमालेले कार्यक्रम गर्यो, गर्छ । कुनै दलले आक्रमण गर्दा कायर भएर भागेर हिँड्दैन’, उनले भने ।
मंसिर १० गतेका लागि तोकिएको चुनाव मंसिर २१ गतेसमेत गरी दुई चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णयबारे ओलीले आश्चर्य व्यक्त गरे । उनले भने, ‘राजनीतिक दल र आयोगबीच छलफल हुँदा मंसिर ४ गते र २१ गतेको मिति प्रस्तावित भएको तर एकै चरणमा गर्ने भनी १० गतेको तोकिएको हो ।’ मतपेटिका सुरक्षा गर्न लामो समय ग्याप राख्नुहुँदैन एकै चरणमा गरौं भनेपछि ४ गतेको साटो १० गते मिति तोक्ने सहमति भएको खुलासा उनले गरे ।