दुई वर्षमा बल्ल बन्ने भो वित्त आयोग

दुई वर्षमा बल्ल बन्ने भो वित्त आयोग

काठमाडौं : सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने भएको छ । संविधान जारी भएलगत्तै गठन हुनुपर्ने आयोग झन्डै दुई वर्ष पुग्न लाग्दा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गर्ने निर्णय गरेको हो । संविधानअनुसार आयोग गठन नभएको भन्दै चैतमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदकद्वय सन्तोष दंगाल र यज्ञप्रसाद खतिवडाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्लाई विपक्षी बनाएका थिए ।

संविधानको धारा ६० को उपधारा २ मा सरकारले संकलन गरेको राजस्व संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउने किटान गरिएको छ । तर, वित्त आयोग नबनेकै कारण चालु आर्थिक वर्षमा उक्त व्यवस्थाअनुरूप बजेट बाँडफाँट हुन सकेन ।

मुलुक संघीयता कार्यान्वयनमा गए पनि आयोग नहुँदा जथाभावी बजेट विनियोजन भएको विज्ञको टिप्पणी ।

आयोग नहुँदा मुलुक संघीयता कार्यान्वयनमा गए पनि बजेट तथा अधिकार केन्द्रीकृत गर्ने प्रयास भएको र बजेट विनियोजन जथाभावी भएको विज्ञहरूले टिप्पणी गरेका छन् । वित्तीय संघीयता विज्ञ डा.खिमलाल देवकोटाले आयोग नभएरैै स्थानीय तहमा जाने बजेट वैज्ञानिक, व्यवस्थित, न्यायोचित र पारदर्शी हुन नसकेको बताए ।

 

उनले अन्नपूर्णसँग भने, ‘प्राकृतिक स्रोत-साधनमा पनि यतिका विवाद हुँदैनथे, आयोगको गठन समयमै नभएकाले हाल बनिरहेको स्थानीय तह सञ्चालसम्बन्धी विधेयकमा पनि प्राकृतिक स्रोतसाधन व्यवस्थापनबारे सही ढंगले राख्न सकिएन ।' संविधानको धारा ६० को उपधारा ५ मा प्रदेशले सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतका स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वितरण गर्नुपर्छ । उपधारा ७ अनुसार संघ, प्रदेश र तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी हुनुपर्नेछ ।

अहिलेसम्म प्रदेशको निर्वाचन नभएको र त्यसपछिका सबै काम बाँकी रहेकाले यी काम हुन सकेका छैनन् । उपधारा ३ मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम हुने भनिएको छ । ‘सरकारको कमजोरीका कारण आयोग गठनमा ढिलाइ हुँदा स्थानीय तह कमजोर भएका छन्, सही अभिभावक नपाउँदा अलमलमा छन्', जथाभावी अनुदान बाँडेर गलत नजिर बसाएको भन्दै डा. देवकोटाले थपे, ‘बजेटमा ससर्त र समानीकरण अनुदान मात्र विनियोजन गरियो तर विशेष र समपूरक अनुदान दिइएन । आयोगले यी सबै अनुदान वितरणको मापदण्ड बनाउँथ्यो ।'

- राष्ट्रपतिबाट पदाधिकारी नियुक्ति हुने
- आयोग अध्यक्ष र सदस्यको पदावधि ६ वर्षको हुने
- आयोगलाई अनुदान वितरणको मापदण्ड बनाउने अधिकार

आयोगले संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँट गर्ने सम्बन्धमा विस्तृत आधार र ढाँचा निर्धारण गर्नेछ । संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने, प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा तहबीच उठ्न सक्ने सम्भावित विवादका विषयमा अध्ययन गरी निवारणका लागि सुझाव दिनेजस्ता ९ वटा काम, कर्तव्य र अधिकार संविधानमै व्यवस्था गरिएको छ ।

आयोग पाँच सदस्यीय हुने

संवैधानिक व्यवस्थाअनुसार आयोगमा अध्यक्षसहित बढीमा पाँच सदस्य रहनेछन् । भाग २६ को धारा २५० अनुसार गठन हुने आयोगको अध्यक्ष र सदस्यको नियुक्ति राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा गर्ने व्यवस्था छ । आयोगका अध्यक्ष र सदस्यको पदावधि ६ वर्षको हुनेछ ।
आयोगका लागि बनेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा बनेको विधेयक र अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक लामो समयदेखि संसद्को अर्थ समितिमा अड्किएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.