युवाले गरे बाढीपीडितको भरथेग
कुमरखोद (झापा) : झापामा बाढी तथा डुबानमा परी धेरै स्थानीय घरबारविहीन भए । बाढीपीडितलाई तत्काल विद्यालय तथा अन्य सामुदायिक भवनमा राखिएको थियो । उनीहरूका भिजेका कपडा कसरी फेराउने अनि कसरी खानपिन गराउने भन्ने ठूलो चिन्ताको विषय थियो । तर, झापा गाउँपालिकास्थित झापा बजारका १० युवाले चार सय ३२ बाढीपीडितलाई खानेकुराको व्यवस्था गरी कपडासमेत फेराइदिए । सुरुमै ती युवाले गरेको सेवाको बाढीपीडितले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
साउन २७ गते शुक्रबार राति आएका बाढीले उक्त गाउँपालिकाका अधिकांश स्थान डुबाएको थियो । बाढीले राति नै केहीको ज्यानसमेत लियो । बाँचेकाहरू कसरी सुरक्षित स्थानमा पुग्न सकिन्छ भनेर यताउता हेर्दै थिए तर कतै बाटो थिएन । त्यही बेला ती युवा उद्धारमा खटिएका थिए ।
तीमध्ये एक हुन्, मनोजकुमार गणेश । ‘बाढीपीडितहरूको त्यो स्थिति देख्दा अझै मन रुन्छ’, उनले भने, ‘हामीले उनीहरूलाई सबैभन्दा पहिला स्कुलमा ल्याएर राख्यौं, लगत्तै तातो चिया बनाएर खुवायौं ।’ उनका अनुसार त्यहाँ भएका सुरक्षाकर्मीबाहेक उद्धारका लागि अरू पुग्न सक्ने अवस्था थिएन ।
तातो चिया खुवाएपछि बाढीपीडितको अनुहारमा देखिएको उज्यालोले सेवा गर्ने हौसला बढाएको मनोजकुमार खत्रीले सुनाए । ‘जब हामीले तातो चिया खुवायौं त्यो बेला उहाँहरूको अनुहारमा देखिएको हाँसोले अझ काम गर्ने हौसला मिल्यो’, उनले भने ।
झापा गाउँपालिकास्थित झापा बजारका १० युवाले चार सय ३२ बाढीपीडितलाई खानेकुराको व्यवस्था गरी कपडासमेत फेराइदिए । सुरुमै ती युवाले गरेको सेवाको बाढीपीडितले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
उनीहरूले विपद्का बेला सहयोग माग्ने विकल्प नदेखेपछि आफूसँग भएका रकम नै खर्च गरेका थिए । ‘हामीसँग भएका पैसाबाहेक र झापा बजारवासीले गरेको सहयोगभन्दा अर्को केही उपाय पनि थिएन’, अर्का युवा दिलीपकुमार सुवेदीले भने, ‘हामीले सोच्यौं- अब हामीसँग जे जति छ त्यसैले उनीहरूलाई खानेकुराको व्यवस्था मिलाउनुपर्छ । त्यहीअनुसार काम गर्दै गयौं ।’
सरकारका तर्फबाट राहत बाँड्न सुरु गर्दा बाढी आएको पाँच दिन भइसकेको थियो । उक्त अवधि यिनै युवाका भरमा झापाका बाढीपीडित आश्रित थिए । युवाको जोस-जाँगरका कारण बजारवासी अन्यलाई पनि पीडितलाई सहयोग गर्न प्रेरणा मिलेको व्यापारी ब्रह्मलाल राजवंशीले बताए । आफ्नो पसलमा भएका खानेकुरालगायत अन्यबाट पनि किनेर दिएको उनले सुनाए ।
अहिले बाढीपीडित घर फर्किएका छन् । बाढी पसेको उनीहरूको घर सुकिसकेको छ । सबैभन्दा पहिला खानपिन र कपडाको जोहो गरिदिएका ती युवाको कामप्रति बाढीपीडित खुसी छन् । ‘उहाँहरूले नै हो हामीलाई बचाएको । हामीले लगाएको जति थियो त्यतिमै स्कुलमा गएर बस्यौं’, बालुवाटारकी रत्नमाया विष्टले भनिन्, ‘हामी स्कुलमा बसिन्जेल सरकारी मान्छेको त अनुहार पनि देख्न पाएनौं ।’
अर्का बाढीपीडित मिलनकुमार भुजेलले गाउँमा ठूलै कार्यक्रम गरेर बाढीपीडितको सेवा गर्ने युवाहरूलाई सम्मान गर्ने बताए । त्रिभुवन आधारभूत विद्यालय कुमरखोदमा बसेका चार सय ३२ बाढीपीडितलाई ती युवाले सेवा गरेका थिए ।