सुदूरपश्चिमका तीन विमानस्थल कालोपत्रे हुँदै
धनगढीः धनगढीको गेटा विमानस्थल कालोपत्रे भएसँगै दैनिक पाँचवटा उडान भईरहेको अवस्थामा, सुदूरपश्चिमका थप तीन वटा विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका छन्। बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका हुन्। गत वर्ष यी तीन वटै विमानस्थल कालोपत्रेका लागि ठेक्का सम्झौता भईसकेको छ।
अछामको साँफेबगर विमानस्थलको निर्माण २०७४ को फागुन भित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ। साँफेबगर विमानस्थलको अहिलेसम्म ३० प्रतिशत निर्माण काम सकिएको योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर योगेन्द्र शर्माले जानकारी दिए।
साँफेबगर विमानस्थलको ‘सववेश' सकिएको उनले बताए। विमानस्थलमा माटो भरान गरिसकेपछि ‘सववेश' बनाईन्छ। सववेश सकिएपछि गिट्टी बिछ्याएर कालोपत्रेको काम सुरु हुनेछ। ‘साँफेबगरको विमानस्थल पक्कीको काम फागुनमा आरामसँग सकिन्छ' योजना प्रमुख शर्माले भने।
साँफेबगर विमानस्थल नजिकै रहेको बुढीगंगा नदीको कटानको खतरामा रहेकाले प्राधिकरणले बुढीगंगा नदी नियन्त्रणका लागि तटबन्ध पनि बनाईरहेको छ भने विमानस्थलको एक छेउमा रहेको छिपे खोलाको नियन्त्रणका लागि पनि काम भइरहेको छ।
‘विमानस्थल कालोपत्रे र नदि नियन्त्रणका लागि अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको हो, त्यो मध्ये २ करोड नदि नियन्त्रणका लािग हो' योजना प्रमुख शर्माले भने। ५५० मिटर साँफेबगर विमानस्थल पक्की बनेपछि, सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाने पर्यटकहरु बढ्ने अनुमान गरिएको छ।
साँफे विमानस्थल २०५६ सालमा माओवादीले ध्यस्त पारेको थियो। विमानस्थल कालोपत्रेका लागि चाहिने गिट्टी उत्पादनको काम भईरहेको र गिट्टी उत्पादन हुने वित्तिकै कालोपत्रे सुरु गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यस्तै सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको दिपायल विमानस्थल पनि यसै वर्षको माघभित्र पक्की हुने गरी गत आर्थिक वर्षमै ठेक्का लगाईएको छ। गतवर्षको फागुनमा सपना गल्वा जेभीले पाँच करोड ८४ लाखमा विमानस्थल पक्कीको ठेक्का पाएको थियो।
‘विमानस्थलको पानी निकासका लागि वरिपरी नाली निर्माणको काम सकिएको छ भने माटो भरान भईरहेको छ। सववेश बनाउनका लागि गिट्टी कुटन क्रसर जडान भएर गिट्टी उत्पादन भईरहेको छ' दिपायल विमानस्थल कालोपत्रे योजनाका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर बालकृष्ण रेग्मीले भने। उनँले निर्माणको २५ प्रतिशत काम सकिएको बताए।
दिपालय विमानस्थल झण्डै ५ सय मिटर कालोपत्रे गरिनेछ। धनगढीलाई हव बनाएर क्षेत्रीय उडानहरु सुरु गरिएमा सुदूरपश्चिमको पर्यटनको क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ। दिपायलबाट पनि खप्तडका लागि अहिले छोटो दुरीको पैदल यात्रा हुने गर्छ। विमानस्थल पक्की भयो र अहिले निर्माण भईरहेको सिलगढी–खप्तड सडक बन्यो भने धनगढीबाट एकै दिनमा खप्तड पुग्न सकिनेछ।
यसैवर्षको असारसम्म सक्ने गरी बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम पनि सुरु भएको छ। ५८० मिटर लम्बाईको कालोपत्रेको ठेक्का गलवा–सांग्रीला जगदम्बा जेभीले पाएकोमा, त्यहाँ पनि माटो भरानको काम भईरहेको छ। विमानस्थल भएर खानेपानीको लाईन लगिएको र त्यसलाई सार्न ढिलाई भएकाले पाटन विमानस्थल कालोपत्रेको काम भने झण्डै १० प्रतिशत मात्रै भएको छ।
विमानस्थल निर्माण योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर नलविक्रम थापाले दशैंपछि निर्माणले तीब्रता पाउने र २०७५ को असारसम्ममा कालोपत्रे सकिने बताए। पाटनको रिपिटर टावर पनि माओवादीले बम हानेर भत्काएको थियो। तर अहिले रिपिटर टावर निर्माणको भने ठेक्का भएको छैन।
चालू आर्थिक वर्षको वजेटमा बझाङको चैनपुर विमानस्थल पनि कालोपत्रे हुने कार्यक्रममा परेको छ। प्राधिकरणले त्यसको निर्माणका लागि चार करोड रकम विनियोजन गरेको छ। प्राधिकरणका प्रवक्ता विरेन्द्रबहादुर श्रेष्ठले बझाङको विमानस्थल कालोपत्रेका लागि चार करोड रकम विनियोजन भएको जानकारी दिए।
तर दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल भने भारतको सीमा नजिक भएकाले स्तरोन्नतिमा नपर्ने भएको छ। जहाज अवतरण हुने बेला बैतडी र दार्चुलाको सिमाना छुट्याउने चमेलीया नदिमा बनेको सस्पेन्सन पुलका कारण गोकुलेश्वर विमानस्थललाई प्राधिकरणको अध्ययन टोलीले जोखिमपूर्ण विमानस्थलको श्रेणीमा राखेको छ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा क्षेत्रीय उडानको प्रचुर सम्भावना छ। ‘पहाडतिरका विमानस्थल पक्की बन्ने वित्तिकै सीता, गोमा एयर जस्ता कम्पनीहरुले धनगढीमा जहाज राखेर उडान गर्ने योजना बनाएका छन' कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेश भण्डारीले भने, ‘सुदूरपश्चिमका चार विमानस्थल पक्की भए भने यस क्षेत्रको आर्थिक विकास हुनेछ।'
बाजुराको कोल्टी विमानस्थल यसअघि नै पक्की भईसकेको छ। धनगढी-कोल्टी लगाएर अबको एक वर्षभीत्र सुदूरपश्चिमका ६ विमानस्थलहरु पक्की हुनेछन्।