कक्षा १२ को नतिजा सार्वजनिक : उत्तीर्ण प्रतिशत घट्यो
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन बीस गते नै सार्वजनिक भइसकेको छ ।
यस पटक कक्षा बाह्रको परीक्षार्थीको उत्तीर्ण प्रतिशत घटेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षा सह नियन्त्रक जयन्ती सत्यालका अनुसार नियमिततर्फ एक लाख ९३ हजार एक सय २५ जना सहभागी भएकोमा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ सहभागी एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकोमा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । जुन कुल सहभागी संख्याको ३५ दशमलव ७४ प्रतिशत हो ।
गत कक्षा १२ को परीक्षा गत वैशाखबाट १० गतेबाट सञ्चालन गरिएको थियो । कक्षा बाह्रको विज्ञान समूहतर्फका परीक्षार्थीमध्ये ७९ दशमलव ४४ विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष नियमित तर्फ विज्ञान समूहबाट ४४ हजार आठ सय ९७ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ जना उत्तीर्ण भएका थिए ।