आन्दोलनको अर्को स्वरुप हो चुनाव : उपेन्द्र यादव
बर्दिबास : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव आन्दोलनको अर्को स्वरुप भएको बताएका छन्। संविधान संशोधन अपरिहार्य भएता पनि आन्दोलनको अर्को स्वरुपका रुपमा चुनावी मैदानमा उत्रिनुपरेको उनले बताएका हुन्।
महोत्तरीको श्रीपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको मुद्धा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने दाबी गरे। देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागीता नहुन्जेलसम्म आन्दोलन जारी रहने उनले उद्घोष गरे।
एक अर्को प्रसंगमा उनले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तबसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष यादवले ठोकुवा गरे।
अन्य पार्टीका ५ सय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका सविकको कटैया गाविसका पुर्व अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा पार्टीमा प्रवेश गरेका सयौं कार्यकर्तालाई पार्टी अध्यक्ष यादवले फूलमाला, अविर लगाई पार्टीमा प्रवेश गराएका थिए।