छोरा पाउने आसले ज्यानै जोखिमा

छोरा पाउने आसले ज्यानै जोखिमा

राजविराज : सप्तरीकी ३५ वर्षीया भुटीदेवी राम उमेरभन्दा निकै पाकी देखिन्छिन् । तिरहुत गाउँपालिका ५ लोहजरा बुधेवा टोलकी भुटीदेवीले छोरा पाउने आसमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सकिन् । जेठी छोरीको उमेर १७ वर्ष पुगिसकेको छ तर पनि उनलाई एउटा भए पनि छोरा जन्माउनुपर्ने पारिवारिक दबाब छ ।

जेठी छोरीको जन्म भएपछि जुम्ल्याहा छोरी भएका र चौथो सन्तानका रूपमा पनि छोरी नै भएपछि पुनः जुम्ल्याहा छोरी जन्मिएको उनले बताइन् । पटकपटक सुत्केरी हुनु तथा पोषिलो खानपिन र आराम नपाउनाले उनको शारीरिक अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । त्यसमाथि कामको बोझ बढ्दै गएको छ । तर, सामाजिक र पारिवारिक दबाबका कारण छोरा पाउने आस भने अझै मारेकी छैनन् उनले ।

छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि पनि छोरा त चाहियो नि । छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ ।-भुटीदेवी राम, ६ छोरीकी आमा

छोरा नभए समाजले अपुतो भन्ने र छोरीको विवाह गरेर ज्वाइँको घर पठाएपछि बुढेसकालको सहारा छोरा मात्र हुने भएकाले पनि छोरा आवश्यक भएको उनको भनाइ छ । ‘छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि छोरा त चाहियो नि’, भुटीदेवीले सुनाइन्, ‘छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ ।’

 

बढी कमाइको आसमा रोजगारीका लागि श्रीमान् काठमाडौं लागेपछि उनले नै सम्पूर्ण घर व्यवहार सम्हालेकी छन् । श्रीमान्को एक्लो कमाइले घर धान्न नसकेपछि भुटीदेवी पनि गाउँमा मजदुरी गर्छिन् । छोरीहरूको उमेर बढेसँगै घरखर्च अभाव भएपछि उनले कक्षा सात पढ्दै गरेकी जेठी छोरी रञ्जितालाई विद्यालयबाट निकालेर मजदुरी गर्न लगाइन् । अहिले जेठी छोरी पनि काम गरेर घरखर्चमा सहयोग पुर्‍याउँछिन् ।

छोराको आसमा ६ छोरी जन्माएका राम दम्पतीको जीवन सन्तान हुर्काउँदैमा बितिरहेको छ । छोरीहरूकै लालनपालमा सबै खर्च हुने भएकाले बस्ने छाप्रोसमेत उनीहरूले जोड्न सकेका छैनन् । ऐलानी जमिनमा बनाएको एउटा झुप्रो पनि साउन २८ गते महुली खोलामा आएको बाढीले भत्काएपछि उनीहरू शरणार्थी बनेका छन् ।

छोरा नजन्मेसम्म सन्तान जन्माइरहने बस्तीको चलन नै देखिन्छ । खासगरी अशिक्षित दलित परिवारमा छोरा नभएसम्म महिला सुत्केरी भइरहेको देखिन्छ । उनका देबर राजदेव रामका पनि तीन छोरी र एक छोरा छन् । छोरा नहुनुमा सन्तान जन्माउने आमालाई नै दोषी देख्ने अशिक्षित समाजका कारण पनि यस्तो हुने गरेको स्थानीय शिक्षक बेचु यादवले बताए ।

गर्भको लिंग पहिचान गर्नु अवैधानिक हो भन्ने पनि थाहा नभएको र पहिले नै गर्भको लिंग पहिचान हुन्छ भन्ने ज्ञान पनि नभएको भुटीदेवीले बताइन् । लगातार ६ छोरी भएपछि उनमा आत्मग्लानीका साथै मानसिक तनाव पनि निकै बढेको छ । जतिपटक छोरी भए पनि छोराको आस गर्नैपर्ने भुटीदेवीको बाध्यता छ । छोरा नभएकै बहानामा श्रीमान्ले दोस्रो विवाह गर्न सक्ने उनको मनमा ठूलो त्रास छ । श्रीमान्ले दोस्रो विवाह गरे आफ्नो र छोरीहरूको झनै बिजोग हुने भयले भुटीदेवी ज्यान जोखिममा पारेर भए पनि छोराको आस गर्न बाध्य छिन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.