भुट्टो हत्यामा पूर्वराष्ट्रपति मुसर्रफ दोषी
इस्लामावाद: पाकिस्तानको आतंकवादविरोधी अदालतले पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा बिहीबार पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई भगौडा घोषणा गरेको छ।
अदालतले २ जनालाई अधिकारीलाई पनि दोषी ठहर्याएको छ। मुद्दाका सुनुवाइका बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त पनि घोषणा गरिएको छ। उनी गत वर्षदेखि नै दुबईमा स्वनिर्वासित छन्।
यसैगरी अदालतले उक्त घटनामा उच्च पदाधिकारीको सुरक्षामा आवश्यक सतर्कता नदेखाउनुका साथै अपराध भएको ठाउँबाट तथ्य लुकाएको अभियोगमा वरिष्ठ प्रहरी अधिकारी साउद अजिज र खुराम शेहजादलाई १७ वर्षको जेल सजाय तोकेको छ।
उनलाई पाँच लाख रुपैयाँ जरिवानाको आदेश दिइएको छ । भुट्टो प्रधानमन्त्री रहेकै समयमा उनको सुरक्षामा प्रत्यक्ष जिम्मेवार रहेका ती दुवैजनालाई घटना शंकाको सूचीमा समावेश गरिएको छ। उनीहरू दुवैलाई भुट्टोको मृत शरीरको अन्तिम परीक्षण गर्नसमेत नदिई तथ्य लुकाउने काममा सहयोग पुर्याएको आरोप लगाइएको थियो। हत्यामा संलग्न भनी आरोपित पाँचजनालाई भने अदालतले सफाइ दिएको छ।
उक्त हत्या अभियोगमा आइतजाज शाह, शेर जमान, हुसैन गुल, मुहम्मद रफाकत र रसीद अहमदलाई पक्राउ गरी मुद्दा चलाइएको थियो। दुईपटक प्रधानमन्त्री बनेकी पाकिस्तानी राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहेकी भुट्टोको पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा हत्या भएको थियो। सन् २००७ को डिसेम्बर २७ मा चुनावीसभामा सम्बोधन गर्ने क्रममा भुट्टोको हत्या भएको थियो। -एजेन्सी