कपडा व्यापारको आवरणमा सुन तस्करी

कपडा व्यापारको आवरणमा सुन तस्करी

काठमाडौं : तिब्बतबाट आफ्नै कन्टेनरमा लुगाफाटा ल्याउने, सानै उमेरमा राम्रो व्यापार गरेझैं लाग्ने पेम्बा दोर्जे शेर्पाको फरक रूप प्रकट भएको छ, एक सक्रिय सुन तस्करका रूपमा । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार राति शेर्पाको ‘र्‍याकेट’ तोडी १५ किलो सुन बरामद गरेको छ । उनको धन्दामा संलग्न अन्य ६ अभियुक्तसमेत पक्राउ परेका छन् ।

करिब करोड मूल्य पर्ने फक्सवागन गाडी चढ्ने विलासी जीवनशैलीका शेर्पाको सामाखुसी, बानियाँटारस्थित भाडाको अपार्टमेन्टमा छापा मार्दा १४ किलो सुन फेला परेको हो । उनले आफ्ना बिक्रेताको साथमा पठाएको थप एक किलो सुन जनकपुरमा बरामद भएको छ ।

जानकारका अनुसार नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुन राष्ट्र बैंकबाटै वितरण भई वैध ढंगले बिक्री हुन्छ । उत्तिकै परिमाणमा अवैध च्यानलको सुन पनि हरेक दिन यहीं खपत हुन्छ । तस्करीको सुन प्राय: खाडी मुलुक यूएई या चीनबाट भित्रिन्छ । त्यस्तो सुन अधिकांश नेपाली बजारमै खपत हुन्छ । केही अंश तेस्रो मुलुकका साथै भारतसमेत जान्छ । यो धन्दासँग हुन्डी र विदेशी मुद्राको अवैध कारोबार पनि जोडिन्छ । सुन तस्करीमा प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म नाफा हुनु कारोबारीका लागि ठूलो आकर्षण हो ।

 

सीआईबीले नै केही महिनाअघि यूएईको दुबईबाट हवाईमार्ग हुँदै भित्रिएको ३३ किलो सुन बरामद गरेको थियो । त्यसमा तस्करी सञ्जालका २० सहित नेपाल प्रहरीका एसएसपीसमेत तानिए । उक्त मुद्दामा मुछिएका एसएसपी श्यामबहादुर खत्रीलाई अदालतले २ लाख धरौटीसहित सामान्य तारेखमा छाडेको छ ।

बरामद परिमाण, आरोपितहरूको किसिम र नेपाल प्रहरीले दिएको महत्वका कारण उक्त प्रकरणले चर्चा पायो । यद्यपि, त्यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । पाँचजना अभियुक्त पुर्पक्षका लागि थुनामा छन् र केही फरार ।

सीआईबीले केही महिनाभित्रै गरेको दोस्रो अप्रेसनले सुन तस्करीको व्यापकतालाई संकेत गरेको छ । ‘यो त टिप अफ द आइसबर्ग (सानो अंश) मात्र हो’, सीआईबी प्रमुख नायव प्रहरी महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले भने ।

कार्कीका अनुसार यो अप्रेसनको पृष्ठभूमिमा सुन तस्करीमा देखिएको नयाँ परिपाटीको आकलन गर्न सकिन्छ । ‘तस्करीको सुनलाई भारत पुर्‍याउने, त्यसका लागि नेपालमा व्यापारिक पृष्ठभूमिका मान्छेले ठूलो स्टक राख्नेजस्तो टे«न्ड देखियो । हामी हेर्दै छौं’, उनले भने ।

यसअघि तस्करीमा कसैले अप्रत्यक्ष लगानी गर्ने तर स्टकचाहिँ नराख्ने एवं बजारमा वितरण र सीमा वारपारका लागि निश्चित समूहले काम गर्ने ‘टे«न्ड’ देखिन्थ्यो । शेर्पाको नेतृत्वमा चलेको तस्करीमा चाहिँ उनीमातहत दुई तहका व्यक्ति संलग्न देखिए । भक्तपुर सूर्यविनायकका ३८ वर्षीय दीपेन्द्र थापा र काठमाडौं बानेश्वरका ३९ वर्षीय सरोज थापाले उनीसँग सुन लिने र वाहक (क्यारियर)को जिम्मा लगाउने गरेको देखिएको छ ।

उनीहरूलाई पिछा गर्दै सीआईबीले अप्रेसन सफल पारेको हो । प्रहरीले एक÷एक किलो सुन बोकेर जनकपुर जाँदै गरेको सूचना पाएर बाहकत्रय काभ्रे पाँचखालका ३८ वर्षीय विष्णु गौतम, सूर्यविनायकका ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्रीलाई जनकपुरमै पक्राउ गरेको हो । गौतम र खत्रीद्वयले जनकपुरका ३८ वर्षीय दीपककुमार शाहलाई दुई किलो सुन बुझाएर भारत पठाएको बयान दिएका छन् । बाँकी एक किलोचाहिँ बरामद भएको छ । शाह पनि प्रहरी नियन्त्रणमा छन् ।

अप्रेसनको नेतृत्व गरेकी सीआईबीकी प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार यो गिरोह सुन तस्करीमा अनुभवी देखिन्छ र नेपाली बजारमै दख्खल हुनुपर्छ । गिरोहका नाइके शेर्पाको अपार्टमेन्टमा बैंक डिपोजिट भौचर, अन्य कागजपत्र थुप्रै भेटिएका छन् ।

सीआईबीलाई २२ किलो सुन भन्ने प्रारम्भिक सूचना आएको थियो । अप्रेसनलगत्तै अनुसन्धानबाट पाँच किलो काठमाडांैभित्र खपत भएको र दुई किलो भारत पठाइसकेको खुलासा भएको छ ।
डीआईजी कार्कीले अनुसन्धानलाई सुन तस्करीसँग जोडिने अन्य अवैध क्रियाकलापसम्म पुर्‍याउने बताए । सुन तस्करीसँग जोडिने हुन्डी धन्दामाथिको कारबाहीका क्रममा हालै मात्र राजस्व अनुसन्धान विभागले एक समूहविरुद्ध चार अर्ब रुपैयाँभन्दा बढीको बिगोदाबीसहित मुद्दा दायर गरेको छ ।

प्रहरीले शेर्पा समूहमाथिको अप्रेसनसँग जोडेर काठमाडौंकै केही सुन व्यापारी घरानालाई छानबिनमा तान्ने सम्भावना देखिएको छ । यसअघि ३३ किलो सुन बरामद घटनामा आरके ज्वेलर्स न्युरोडका प्रबन्ध सञ्चालक राजेन्द्रकुमार शाक्य तानिएका थिए । उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

विदेशी ‘कनेक्सन’लाई स्थापित गरी पछ्याउन सक्नु ठूलो चुनौती देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त राजनप्रसाद पन्थलाई इन्टरपोलको सहयोगमा दुबईबाट डिपोर्ट गराई नेपाल ल्याइएको थियो ।

नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुन राष्ट्र बैंकबाटै वितरण भई वैध ढंगले बिक्री हुन्छ । उत्तिकै परिमाणमा अवैध च्यानलको सुन पनि हरेक दिन खपत हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.