पहिलो चरणमा ३२, दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन
काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगका प्रवक्ता नवराज ढकालले मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ अनि दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगकै सुझावमा निर्वाचन दुई चरणमा एकसाथ गर्ने निर्णय गरेको थियो।
प्रवक्ता ढकालका अनुसार प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप अनि ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखामा मंसिर १० गते निर्वाचन हुनेछ । प्रदेश नम्बर ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, ६ का रूकुम (पश्चिमी भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा अनि ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि पहिलो चरणमै निर्वाचन हुने आयोगले जनाएको छ ।
प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, ४ का नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा भने मंसिर २१ गते निर्वाचन हुने भएको छ ।
प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, ६ का सल्यान, सुर्खेत र दैलेख, ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन गर्ने ढकालले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्बन्धी ऐन चाँडै उपलब्ध गराउन सरकारलाई पुनः अनुरोध गरेको छ ।