घरैपिच्छे अवैध मदिरा बनाउने कारखाना
विराटनगर: भारतसंग सीमा जोडिएको विराटनगरको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौला नेत्रृत्वको प्रहरी टोली बिहीबार राति विराटनगर महानगरपालिका १८ स्थित झुट्याईमा पुग्यो।
घरघरमा कानुनले उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाएको अवैध मदिरा बनाएर विक्री गर्ने गरिएको सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीको निर्देशनमा पुगेको निरौला नेत्रृत्वको टोलीले सबै घरमा एकै पटक छापा मार्यो। झुट्याई टोलका १५ वटा घरमा छापा मार्दा प्रहरीले ती सबै घरमा अवैध रुपमा घरेलु मदिरा बनाउने कारखानानै संचालनमा रहेको पायो।
‘विगत लामो समयदेखि भारतसंग सीमा जोडिएका सीमावर्ती क्षेत्रका सबै जसो घरमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेर बजार सम्म पुर्याएर विक्री गर्ने गरिएको पाइयो,' निरौलाले भने, ‘घरघरमा अवैध मदिरा उत्पादनका लागि कारखाना नै संचालन गरिएका रहेछन्।' सीमा क्षेत्रका सबै जसो घरेलु रक्सी बनाउने भट्टीलाई ‘अवैध घरेलु मदिरा नियन्त्रण' अभियाननै संचालन गरेर प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताए।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा कानुनद्धारा बर्जित अवैध मदिरा उत्पादन र विक्रीलाई व्यवसायका रुपमा संचालन गरेको पाइएको छ । निरौलाले सीमा क्षेत्रका सबै घरमा प्रहरीले छापा मारेर अवैध मदिरा उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, विभिन्न सामाग्री र तयारी मदिरा नियन्त्रणमा लिइएको जानकारी दिए । अवैध मदिरा नियन्त्रणमा लिनका लागि पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोधको प्रयास समेत गरेका थिए।
प्रहरीले तीन हजार पाँच सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ । पाँच सय लिटर तयारी मदिरा समेत नियन्त्रणमा लिएर शुक्रबार आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको जानकारी निरौलाले दिए।
प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने ड्रम, मदिरा बनाउने भाँडा, भट्टी चुल्हो, माटोको भाँडा, सिल्भरको पैनी र जाँड बनाउन प्रयोग गरिने मर्चा समेत बरामद गरेको थियो । प्रहरीले आगामी दिनमा घरेलु मदिरा उत्पादन र विक्री नगर्नका लागि चेतावनी समेत दिएको छ। ‘अव पनि यस्तो काम दोहोर्याएमा छुट दिइने छैन,' प्रनि निरौलाले भने, ‘घरेलु मदिरा उत्पादन गर्ने तथा विक्री गर्नेलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइने छ।'
भारतसंग सीमा जोडिएका सीमावर्ती क्षेत्रका घरघरमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको सूचना पटक पटक आउँदा पनि प्रहरीले यस अघि रक्सी भट्टीलाई चलाएको थिएन। मोरङ प्रहरी प्रमुखका रुपमा एसपी बिसी आएपछि र इप्रका रानीको प्रमुख भएर प्रनि निरौला पुगेपछि प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा चासो दिन थालेको हो। एसपी बिसीले अवैध घरेलु मदिरा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको जानकारी दिए। घरेलु मदिराकै कारण घरेलु हिंसा लगायतका विभिन्न अपराधिक घटनामा बृद्धि भएपछि प्रहरीले नियन्त्रणका लागि चासो दिएको उनको भनाइ छ।
यस अघि सीमावर्ती क्षेत्रका सबै जसो ठूला होटेलमा घरेलु मदिरा अवैध रुपमा विक्री हुने गरेको प्रहरीले पत्ता लगाएको थियो। बिसीले अपराधिक गतिविधी बढाउने, शान्ति सुरक्षाको अवस्था भंग गर्ने, मानव स्वास्थ्यमा गम्भीर असर गर्ने, राज्यको कर छली गर्ने लगायतका कारणले नेपाल-भारत सीमानाको दशगजा क्षेत्र आसपासलाई लक्षित गरेर घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले प्राथमिकताका साथ संचालन गरेको बताए। मदिरा सेवनकै कारण धेरै अपराधिक घटना हुन थालेपछि सीमावर्ती क्षेत्रमा चेकजाँच र निगरानी बढाएर उच्च सतर्कता अपनाउन थालिएको प्रहरीको भनाइ छ।
भारतको विहारमा भारत सरकारले मदिरा विक्री र सेवनमा प्रतिवन्ध लगाइएसंगै सेवनका लागि सीमावर्ती नेपाली भूमीमा आउने भारतीयहरुको संख्या पछिल्लो समय बढेको छ। भारतीय ग्राहाक बढेसंगै लुकाईछिपाई सीमावर्ती क्षेत्रमा घरेलु मदिराको उत्पादन र किनबेच हुने क्रम बढेको प्रहरीको निस्कर्ष छ। खुल्ला सीमानाका कारण दैनिक जसो भारतीयहरु मदिरा सेवनकै लागि नेपालतर्फ आउने र उनीहरुले सस्तो मदिरा खोज्ने गरेको नेपाल प्रहरीले जनाएको छ।