मुक्तकमलरीलाई परिचय पत्र बाँड्न मन्त्रीको निर्देशन
बर्दिया: भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले मुक्तकमलरीहरुलाई परिचय पत्र बाँड्न निर्देशन दिएका छन्। बर्दियाका मुक्तकमलरीहरुलाई परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दहितले मन्त्रालयका तर्फबाट भुमिसुधार कार्यालयहरुलाई कडा निर्देशन दिएका हुन्।
सरकारले मुक्तकमलरीलाई परिचय पत्र वितरण गर्ने काम सुरु गरिसकेकाले बिना रोकावट परिचयपत्र बाँड्नुपर्ने उनको भनाई थियो। सरकारको चार महिना भित्र परिचय पत्र बाँडेर सक्ने नीति भएकाले तदारुकताका साथ परिचयपत्र वितरणको काम सम्पन्न गर्न उनले निर्देशन दिए।
कमलरीप्रथा विरुद्धको मुक्ति अभियान मार्फत सरकारसँग भएको १० वुँदे सम्झौता अनुरुप नेपालमा कमलरी प्रथा अन्त्यको घोषणा भएको हो। सरकारसँग भएको सम्झौता अनुसार ३ वटा बुँदा मात्र कार्यान्वय भएको भन्दै मुक्तकमलरीहरुले ८ बुँदे माग सहितको ज्ञापन पत्र मन्त्री दहितलाई बुझाएका छन्।
कमलरी राख्ने मालिकलाई कडा कानूनी कारवाही, वेपत्ता कमलरीको खोजी, मालिकको यौनशोषणबाट कुमारी आमा बनेका कमलरीलाई न्याय लगायतका ८ बुँदे माग सहितको ज्ञापन पत्र वुझाईएको मुक्त कमलरी विकास मञ्चका कार्यक्रम प्रवन्धक विरबहादुर नेपालीले बताएका छन्। भुमिसुधार कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा बर्दियाका २९ जना मुक्तकमलरीलाई परिचय पत्र दिईएको थियो।
बर्दियामा २ हजार ४९५, कैलाली २ हजार ७६७, दाङ्गमा २ हजार ९४२, कञ्चनपुरमा ७ सउ ४१ र वाँकेमा ५ सय २० जना गरी ९ हजार ४७५ जना मुक्तकमलरी छन्। त्यस्तै कञ्चनपुरमा १ सय ३२, कैलाली ५९ र बाँकेमा गरी १ सय ५ जना कमलरी मुक्तहुन बाँकी रहेको जनाईएको छ। नेपालमा अनुमानित १२ हजार कमलरी रहेको मुक्तकमलरी विकास मञ्चले जनाएको छ।