'खानलाई गाँस छैन,मुखमा पलाएको मासु कसरी फालौं ?'

 'खानलाई गाँस छैन,मुखमा पलाएको मासु कसरी फालौं ?'

सुर्खेतः सुरुमा गालामा सानो गिर्खो आयो। त्यसलाई उनले सामान्य रुपमा नै लिइन्। विस्तारै त्यो ठूलो हुँदै गयो। आर्थिक अभावका कारण समयमा नै उपचार गर्न नसक्दा त्यही गिर्खो विस्तारै ठूलो हुँदै गएको छ। मुख नै छोप्ने गरी पलाएको त्यही मासुका कारण कालिकोटकी महेसरा सार्की यतिबेला पीडामा छिन्।

 

जिल्लाको पचालझरना गाउँपालिकाको वडा नम्बर ५ निवासी ३८ वर्षिया महेसरा विगत १० वर्षदेखि उपचार अभावमा छटपटाइरहेकी छन्। दाहिने गालाबाट पलाएको मासुले अहिले मुख नै छोप्न थालेको छ। वर्षेनी मुखको मासु बढ्दै गएको छ। तर आर्थिक अभावका कारण उनले यसको उपचार गर्न सकेकी छैनन्।

गाउँलेले स्थानीय स्वास्थ्य संस्थामा देखाए पनि स्वास्थ्यकर्मीले गाउँमा उपचार सम्भव नभएको भन्दै फर्काइदिएका छन्। जिल्ला बाहिर उपचारका लागि लैजान आर्थिक समस्याका कारण सम्भव नभएको आफन्तको गुनासो छ ।
'घरमा खानलाई गास छैन, अब यो मुखमा पलाएको मासु कसरी फालौं?'

आफ्नो पीडा सुनाउँदै महेसराले भनिन्,‘पहिला त सानो गिर्खो मात्र थियो, निको होला भनेर वास्ता नै गरिन । अहिले त मुख नै ढाक्न थाल्यो, अब उपचार गरौं भने आफूसँग पैसा नै छैन।' घरमा एक छाक खानलाई पनि धौधौ भइरहेको भन्दै उनले बाहिर गएर उपचार गर्न सक्ने अवस्था नभएको दुखेसो पोखिन्।

उनले भनिन्, 'यहाँ देखाएकी थिएँ, ठूलो अस्पतालमा जानुपर्छ भनेका छन्।अब कसरी बाहिर उपचार गर्न जाउँ? ठूला अस्पतालमा जान पाए त निको हुन्थ्यो होला।' उनको मुखमा पलाएको मासु देखेर स्थानीय स्वास्थ्यकर्मीसमेत आश्चर्यमा छन्।

स्थानीयका अनुसार महेसराको परिवारमा आर्थिक अवस्था नाजुक छ। मजदुरी गरेर परिवारले छाक टार्दै आएका छन् । के समस्या हो भन्ने बारेमा जानकारी नै नभएको स्थानीयको भनाइ छ।

स्थानीय कांग्रेस नेता मोतिराज बम भन्छन्,‘यो अनौठो समस्या देखियो, डाक्टरका लागि पनि अनुसन्धानको विषय हुनसक्छ। परिवारको आर्थिक अवस्था कमजोर छ, १० वर्षदेखि उनी पीडा सहेर बाँचेकी छन्।'

दुर्गममा समयमा नै उपचार नगर्ने र ठूलो रुप लिंदा आर्थिक अवस्थाले नभ्याउने भएकाले पनि समस्या भएको उनको भनाइ छ। पीडित परिवारले भने उपचारका लागि आर्थिक सहयोगको याचना गरेको छ। स्थानीय गाउँलेले महेसराको उपचारमा सहयोग गरेर उनको जीवन रक्षा गरिदिन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.