मौसमी रुघाखोकीले बिरामीको संख्या बढ्यो
गोरखाः गोरखाको खोर्लामा मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। करिब दुईसय घरधुरी रहेको यहाँको हरेक घरमा बिरामी रहेका धार्चे गाउँपालिका ३ का वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
नजिक स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य उपचारमा समस्या भएको गुरुङको भनाइ छ।'उहियाबाट आएका स्वास्थ्यकर्मीले आज एकै दिनमा एकसय ७३ जना बिरामीको चेकजाँच गरे' उनले भने 'अझै धेरै बिरामीको उपचार हुन बाँकी रहेको छ।'
साबिक उहिया गाविसमा पर्ने उहियामा स्वास्थ्य संस्था छैन। उहिया स्वास्थ्यचौकी पुग्न पैदल सात घण्टा हिड्नुपर्छ। 'त्यति टाढा कोही पनि उपचार गराउन जाँदैनन् त्यसैले मैले उहियाका स्वास्थ्यकर्मीलाई नै गाउँमा आउन अनुरोध गरेको थिएँ' उनले भने 'तीन जना स्वास्थ्यकर्मी दुईदिनदेखि गाउँमा खटिएका छन्।' स्वास्थ्यकर्मी आएपनि औषधी पर्याप्त नभएको उनको भनाइ छ।
तर जिल्ला स्वास्थ्यकार्यालयले भने मौसमी बिरामी नियन्त्रण बाहिर नरहेको जनाएको छ। महामारी शाखा प्रमुख नानीबाबु दानीले स्वास्थ्यकर्मी खटिरहेकाले चिन्ताजनक अबस्था नरहेको बताए।
खोर्ला यातायात सञ्जालको पहुँच नपुगेको ठाउँ हो। यहाँ सामान ढुवानीको एकमात्र बिकल्प खच्चड हो । बाढी पहिरोका कारण खच्चडले औषधी ढुवानी गर्न नसकेको स्थानीयले बताएका छन्।
'हेल्थपोष्टका इन्चार्जले सदरमुकामबाट औषधी लिएर गएका छन् तर खच्चड हिड्न सक्दैन। मान्छेले कति बोक्न सक्छन् र' वडा अध्यक्ष गुरुङले भने 'सरकारले दुई-तीन घण्टाको बाटोमा हेल्थपोष्ट राख्ने भनेपनि हाम्रो गाउँमा सातआठ घण्टाको बाटो टाढा हेल्थपोष्ट छ। गाउँलेहरु स्वास्थ्य सेवाबाट बञ्चित छन्।'